डडेल्धुरा परशुराम नगरपालिका ८ निवासी २६ वर्षीया अस्मिता देवी धामी स्थानीय जमुरानी आधारभुत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिइन् ।
स्वास्थ्य ईकाई केन्द्रमा वाँचेका कोराना विरुद्धको खोप जोगबुढा अस्पतालमा फिर्ता बुझाउन असार २ गते उनलाई खटाईयो । स्वास्थ्य ईकाई केन्द्रवाट जोगबुढा अस्पताल पुग्न करिव साढे ३ घण्टा पैदल हिड्नु पर्छ। खोप पुगाएर घर फर्किनु पर्ने अस्मिता साँझ घर आईनन् । आफन्तले फोन गर्दा मोवाईल स्विच अफ आयो ।
असार २ गते देखि सम्पर्कविहिन भएकी अस्मिताको खोजी गर्दा वडा ९ हट्वानी सामुदायिक वनमा जोगबुढा जाने मुलवाटो भन्दा करिव ७०/८० मिटरको दुरीमा बुट्याङ भएको ठाउँमा उनी मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले बताए।
शव ढिला फेला परेकाले मुख सड्न लागेको अवस्था रहेको र शरिरमा लुगा कपडा ठिक अवस्थामा रहेको उनले बताए। मृतकका आफन्त र स्थानीयले अस्मिताको हत्या भएको आशंका गरेका छन्। उनको शव मिलेको भन्दा केहि वर नै एउटा चप्पल फेला परेको स्थानीयले बताएका छन्। उनको हातको चुडी फुटेको फेला परेको बताएका छन्। डडेल्धुरा प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। घटनास्थलमा पुगेर मुचुल्का उठाउने लगायत घटनास्थलको वारेमा बुझ्ने काम भैरहेको प्रहरी नायव उपरिक्षक नेपालले बताए।
यसैगरि संघिय ईकाई प्रहरी कार्यालयवाट पनि प्रहरी नायव उपरिक्षक लक्ष्मण शाहीको नेतृत्वको टोली र प्रदेश प्रहरी कार्यालयवाट प्रहरी नायव निरिक्षक पदम थापाको नेतृत्वमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समुह(आर आई टी) को टोली पनि अनुसन्धानका लागी खटाईएको प्रहरी उपरिक्षक थापाले बताएका छन्।
हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले घटनालाई गंभिरता पुर्वक लिएर प्रहरीका थप टोली खटाईएको बुझिएको छ। ‘अहिले उनको हत्या हो वा होईन यस्तै कसरी भन्न सकिन्छ? शवको पोष्टमार्टम रिपोट पछि थाह हुन सक्छ ’प्रहरी उपरिक्षक थापाले भने। शवको शरिरमा वाहिरी देखिने चोटपटक नरहेको उनले बताए। लगातार पानी परिरहेकोले तालिम प्राप्त कुकूर घटनास्थलमा लगिएन्। अस्मिता अढाई वर्षदेखि कार्यरत थिइन्। उनका श्रीमान, दुई छोरी छन्। उनका श्रीमान घरमै खेतवारीमा काम गर्छन।
प्रकाशित: ६ असार २०७८ १०:५७ आइतबार