समाज

पाँच दिनमा भारी बर्षापछिको बाढीपहिराेले १६ को मृत्यु, दुई हजार विस्थापित

पछिल्लो पाँच दिनमा भारी बर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन/तीन तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान र बाजुरामा एक/एक जना रहेका गृह मन्त्रालयले जनाएको छ । बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये १० पुरुष चार महिला र दुई बालिका छन् ।  

बेपत्ता २२ मध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना छन् । बाजुरा र रुपन्देहीमा एक/एक जना बेपत्ता रहेका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै यार्सागुम्बा टिप्न गएका मनाङ्का ७० जनाको पनि आजै उद्धार भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ । साथै बर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान, दैलेखलगायतका जिल्लामा पहिरो गई अवरोध भएको सडक खुलाउने प्रयास जारी छ ।  

झण्डै दुई हजार विस्थापित 

बाढी पहिराका कारण अहिलेसम्म १९९ वटा घरमा क्षति भएको छ । कुल १२ वटा पुल, एक विद्यालय र सात सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ । प्राप्त विवरणअनुसार ५२८ घरका एक हजार ७६० जना मानिस विस्थापित भएको प्रहरी प्रवक्ता कुँवरले बताए । प्रहरीका अनुसार यही बीचमा ५१६ पशु चौपायको मृत्यु भएको छ ।  

बाढी र पहिरोको कारण सिन्धुपाल्चोकका इलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी तालामाराङ स्थानान्तरण गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी सक्रिय रहेका छन् ।  

बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकाल्ने कार्यमा स्थानीयवासी, प्रशासन र जनप्रतिनिधिको समन्वय र सहयोगमा तीनवटै सुरक्षा निकाय सक्रिय भएर लागेका छन् । उद्धारका साथै राहत वितरण कार्यसमेत जारी रहेको जनाइएको छ । रासस

प्रकाशित: ४ असार २०७८ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App