समाज

तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

महाकाली नदीमा पानीको बहाव बढेको छ। लगातारको बर्षाका कारण महाकाली नदीमा पानीले खतराको सतह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ।

महाकाली नदीमा दार्चुलाको दत्तुमा राखिएको जल मापन केन्द्रमा जल सतहले खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। महाकाली नदीमा पानीको बहाव बढेकाले जिल्लाको तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको उनले बताए।

दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका महाकाली नदी किनारका बासिन्दाहरुलाई सचेत रहन प्रशासनले आग्रह गरेको हो। लगातारको बर्षाका कारण बाढीले खतराको सतह पार गरेकाले नदी छेउछाउ नजान आग्रह गरिएको सूचना अधिकारी भारतीले बताए।

प्रकाशित: ४ असार २०७८ ०९:५६ शुक्रबार

तटीय क्षेत्रका बासिन्दा सतर्क रहन आग्रह महाकाली नदी