समाज

बाढीमा फसेका ११ जना बालबालिकाको उद्धार

कपिलवस्तुको बिजयनगर गाउपालिका– १ स्थित अरुवा खोलाको बाढीमा फसेका ११ जना बालबालिका उद्धार गरिएको छ। गाईबस्तु चराउन गएका बेला बाढी आएपछि उनीहरु खोलाबीचमै फसेका थिए।

मधुनगरस्थित खोलामा फसेका उनीहरुको उद्धारका लागि सशस्त्र प्रहरीको टोली पुगेको थियो। खोलामा फसेका ११ जना बालबालिकाको सकुशल उद्दार गरिएको सशस्त्र प्रहरी निरीक्षक सत्यकुमार बुढाथोकीले बताए।

‘गाईबस्तु चराउन गएका बालबालिकाहरु खोलामा बाढी आउँदा फसेका थिए, हाम्रो टोलीले उनीहरुको सकुशल उद्धार गरी ज्यान बचाएका हाैं’ उनले भने। खोलामा फसेका उनीहरु आत्तिएका थिए।

एकघन्टा बढी सयमको लामो प्रयासपछि बालबालिकाको उद्दार गरिएको प्रहरी उपरिक्षक ध्रुब कार्कीले बताए। सशस्त्र प्रहरकिो टोली लाईफ ज्याकेट, ट्युब, डोरी लगायतका सामग्रीसहित खोलामा पसेर उनीहरुको उद्धार गरेको थियो।

बाढीमा फसेका पालिका वडा नम्बर १ का १४ वर्षीय सागर परियार, ७ वर्षकी आकृति परियार, ८ वर्षकी निशा मल्ल, १२ वर्षका प्रदीप राउत क्षेत्री, १३ वर्षका आकाश परियार, १२ वर्षका शक्ति नेपाली र १३ वर्षकी नेनकला राउत क्षेत्री लगायत छन्।

प्रकाशित: ३ असार २०७८ १३:४५ बिहीबार

बाढीमा फसेका बालबालिकाको उद्धार