समाज

जुम्लामा पहिरोमा परेका चार जना सम्पर्कविहीन

फाइल तस्बिर

जुम्लाको पातारासी गाउँपालिकामा पहिरोमा परेका ४ जना सम्पर्कविहिन छन्। पातारासी गाउँपालिकाको लेखिढुंगा टुङटुङ लेखमा पहिरोमा परेका चार जना सम्पर्कविहिन भएका हुन्। पहिरोमा परेकाहरुको खोजी कार्यका लागि आफन्तजन पहिरो गएको स्थान तर्फ गइरहेको प्रहरीले जनाएको छ।  

पाटन क्षेत्रमा फोन नलाग्ने भएकोले सम्पर्क हुन सकेको छैन। घाइते मध्ये सुकबहादुर नेपाली र तारा नेपालीको अवस्था गम्भीर रहेको स्थानीयलाई उदृढ गर्दै जुम्लाका प्रहरी प्रमुख दानबहादुर थापाले जानकारी दिए। अरु २ जना घाइतेको नाम खुलिसकेको छैन।  

उनीहरु जडिबुटी कोर्न पाटन गएका थिए। निरन्तर वर्षा भएपछि गाउँफर्कन थालेका उनीहरु पहिरोमा परेका हुन्। बुधवार विहान पहिरोमा परेका आफन्तजनले फोन सम्पर्क गरेर जानकारी गराएका थिए,सहायक प्रमुख जिल्ला अधिकारी नन्दराज चौलागाइँले भने,‘तर अहिले सम्र्पकमा छैनन्। फोन सम्पर्क हुन नसक्दा उद्धार कार्य अघि बढाउन समस्या भइरहेको छ।

चार जना पहिरोमा परेको खबर पाउने वित्तिकै हेलिकप्टरबाट रेस्क्यु गर्ने तयारी भएको थियो। उनले भने,‘अहिले सम्म न अकाश खुल्छ। नत आफन्तको फोन नै आउँछ। सदरमुकाम भन्दा तीन दिन टाढा पर्ने भएकोले सम्पर्क हुन असहज भइरहेको छ। ’

घाइतहरु कस्तो अवस्थामा छन ? कहाँ छन ? सम्पर्क हुन सकेको छैन । रेस्क्युको लागि सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा छ। वर्षा भइरहेकोले आकाश खुलेको छैन। आकाश खुल्ने वित्तिकै उद्धार सुरु हुने स्थानीय प्रशासनले जनाएको छ।  घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी गरिएपनि खराब मौसमका कारण हेलिकप्टर घटनास्थलमा पुग्न नसकेको जुम्लाका डिएसपी दान बहादुर थापाले बताए। घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको तर, त्यहाँ पुग्न २ दिन लग्ने हुनाले हेलिकप्टरबाट उद्दार गर्नुको विकल्प नभएको डिएसपी थापाले बताए।  

प्रकाशित: ३ असार २०७८ १२:०६ बिहीबार

जुम्लामा पहिरो चार जना सम्पर्कविहीन