समाज

मनाङमा चारदिनपछि उद्धार सुरु (फोटोसहित)

बाढीपहिरोले क्षति पुर्‍याएको मनाङको चामेमा स्थलगत अवलोकनमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल। तस्बिरः नागरिक

भीषण वर्षापछिको बाढीले क्षतविक्षत पुर्‍याएको मनाङमा चारदिनपछि बल्ल राहत सहितको टिम पुग्न सफल भएको छ। बुधबार नै सेनाको हेलिकोप्टरमा उद्धार र राहत टिम मनाङ जाने भनिएपनि मौसम खराबीले हेलिकप्टर जान सकेको थिएन।

तर, विहीबार दिउँसो गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम मनाङ पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले जानकारी दिए। अर्यालका अनुसार मुख्यमन्त्री सहितको टिम अहिले सदरमुकाम चामे पुगेको छ। ‘राहत सामाग्री लिएर टिम चामे पुगेको छ,’ अर्यालले भने, ‘हिजो र अस्तिको तुलनामा विहीबार मस्र्याङी नदीको वहाव केही कम भएको छ।’ 

गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काका अनुसार मुख्यमन्त्री सहितको टिम अहिले मनाङ गएको छ। औषधी, खाद्य सामाग्री र टेन्ट लिएर अर्का मन्त्री राजीव गुरुङ (दिपक मनाङे) सहितको टोली मनाङ गएको हो। गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टर व्यवस्थापन गरिएको खड्काले बताएका छन। प्रदेशवासीलाई सुरक्षित तबरले व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको खड्काको भनाई छ।  

यसअघि गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि ५ करोड रुपैयाँ राख्ने निर्णय पनि गरेको छ। प्रदेशका विभिन्न जिल्लाहरुमा भारी वर्षाका कारण ठुलो आकारमा क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको हो।

 गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता खड्काले बताए।

यसअघि नै मनाङमा बाढी र पहिरोमा फसेका ३५ जनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको थियो । नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङको सिरानतालका २४ जना र थोंचेको गुम्बामा फसेका ११ जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। 

प्रकाशित: ३ असार २०७८ ०९:५२ बिहीबार

मनाङ उद्धार सुरु