समाज

हौंचुरका युवाले पठाए गाउँमा स्वास्थ्य सामग्री

हौंचुरका युवाले गाउँ पठाएको स्वास्थ्य सामग्री । तस्बिर : नागरिक

स्वदेश तथा विदेशमा रहेका खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवाले कोभिड–१९ को महामारीमा आफ्नो गाउँका लागि स्वास्थ्य सामग्री पठाएका छन् । 

रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेकै अवस्थामा दुई वर्षअघि आफ्नो गाउँठाउँका लागि ‘एम्बूलेन्स जुटाऔं अभियान’ सञ्चालन गरेका युवाले यसपल्ट कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा उपयोग हुने स्वास्थ्य सामग्री पठाएका हुन् । २०७६ साल चैतमा एम्बूलेन्स खरिद गरेपछि बाँकी रहेको ६५ हजारमा एक थान अक्सिमिटर, एक थान थर्मलगन, ५ थान पिपिई सेट, सय व्याग मास्क, २ जार सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री खरिद गरेर पठाइएको अभियान्तामध्येका गजेन्द्र खालिङ राईले जानकारी दिए ।  

खालिङसहित चिरन कार्की, सम्मर खड्का, गणेश गुरुङ लगायतको अगुवाईमा पठाइएको स्वास्थ्य सामग्री वडाध्यक्ष यज्ञनारायण श्रेष्ठमार्फत स्वास्थ्यचौकी हौंचुरमा पुर्‍याइएको जनाइएको छ । युवा अभियान्ताले कोभिड–१९ को संक्रमणका बेला सेवन गर्ने औषधि समेत पठाएका छन् । केही समयपछि हौंचुरका घर–घरमा पुग्नेगरी थप स्वास्थ्य सामग्री पठाउनका लागि अभियान सञ्चालन भइरहेको खालिङले जानकारी दिए । 

‘केही वर्षअघि गाउँमा एम्बूलेन्स पठाउँदा केही रकम बचेको थियो । त्यही रकमबाट स्वास्थ्य सामग्री खरिद गरेर स्वास्थ्यचौकीमार्फत वितरण हुनेगरी पठाइएको हो,’ हाल कतारमा रहेका खालिङले भने, ‘थप स्वास्थ्य सामग्री पठाउनका लागि हामीले अभियान सञ्चालन गरिरहेकै छौँ । आफ्नो गाउँठाउका मान्छेले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।’ हौंचुरकै गणेश गुरुङले काठमाडौंबाट स्वास्थ्य सामग्री गाउँमा पठाउने व्यवस्था मिलाएका थिए ।  

प्रवासमा रहेका हौंचुरका युवाको पहलमा २०७६ सालमा देश तथा विदेशमा रहेका ३९ जनाबाट संकलन गरिएको ५ लाखमा रावाबेँसी गाउँपालिकाको ६ लाख थप गरेर एउटा एम्बूलेन्स खरिद गरेर ल्याइएको थियो ।

प्रकाशित: ३ असार २०७८ ०७:५९ बिहीबार

स्वास्थ्य सामग्री