कोभिड–१९ बाट संक्रमित बिरामीको नजिक जो कोही जान हिच्किचाउँछन् । संक्रमितको नजिक जाँदा आफैलाई संक्रमण सर्ने त्रास छ । संक्रमितलाई नजिक गएर ‘बोलाउने, स्वास्थ्य अवस्थाबारे बुझ्ने र मनोवल उच्च बनाउन प्रोत्साहित गर्ने’ व्यक्ति विरलै छन् । संक्रमण पुष्टि भएपछि संक्रमितलाई परिवारकै व्यक्तिले समेत भेदभाव गर्ने गरेको पाइएको छ ।
यही अवस्थालाई मध्यनजर गर्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित होमादेवी महिला विकास मञ्चले संक्रमितलाई भाले, नुन, तेल र मसला प्रदान गरेको छ । संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसिरहेका संक्रमितको मनोवल उच्च बनाउने लक्ष्यका साथ महिला विकास मञ्चले आफ्नै कोषबाट भाले, नुन, तेल र मसला जुटाएर वितरण गरेको हो ।
पहिलो चरणमा गरिएको एन्टिजेन परीक्षणका क्रममा संक्रमण पुष्टि भएका साविकको छोरम्बु–४ र ५ का ५ परिवारका ६ संक्रमितलाई बुधबार घर–घरमा पुगेर एक/एक वटा भाले, नुन, तेल र मसला प्रदान गरिएको होमादेवी महिला विकास मञ्चकी अध्यक्ष सुनिता राईले बताईन् ।
संक्रमितलाई दिप्रुङ चुईचुम्मा गाउँपालिकाका कार्यपालिका सदस्य सिता राई र होमादेवी महिला विकास मञ्चकी अध्यक्ष राईले भाले, नुन, तेल र मसला हस्तान्तरण गरेका थिए । संक्रमणपछि मनोवैज्ञानिक त्रास र चिन्ता खेपीरहेका स्थानीयलाई शान्त्वना र हौसला दिँदै संक्रमणको बेला ‘पोषिलो खानेकुरा खाने सन्देश’ दिन भाले, नुन, तेल र मसला प्रदान गरिएको महिला विकास मञ्चले जनाएको छ ।
बिमला राई ‘केयरलेस’को पहलमा २०६६ सालमा दर्ता भएको होमादेवी महिला विकास मञ्चले नियमित बचत गर्दै गाउँमा व्याजमा ऋण प्रवाह गर्दै आएको छ । सुनमायाँ राई संस्थापक अध्यक्ष रहेको महिला विकास मञ्चले आफ्नै भवन निर्माण गरिसकेको छ । गाउँमा विद्युत विस्तारका क्रममा महिला विकास मञ्चले साविकको छोरम्बु–४ र ५ का ५ का उपभोक्तालाई आफ्नै कोषबाट मिटर बक्स प्रदान गरेको थियो ।
प्रकाशित: ३ असार २०७८ ०४:५५ बिहीबार