समाज

बाढिका कारण रातभर टापुमा फसेका चारजनाको उद्धार

बाढिका कारण राप्तीको टापुमा फसेका देउखुरीका चारजनाको उद्धार गरिएको छ। मंगलबार भैँसी चराउनका लागि उक्त टापुमा पुगेका लमही नगरपालिकाका तीनजना र राजपुर गाउँपालिकाका एकजना राप्तीमा बाढी बढेपछि फसेका थिए। 

मंगलबार राप्तीको टापुमा फसेका लमही नगरपालिका २ का सावित्रा यादव र राधे यादव, ७ का मनराम चौधरी  र राजपुर गाउँपालिका ३ का गणेश यादवलाई बुधबार बिहान उद्धार गरिएको हो। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनिहरुलाई डुंगा मार्फत उद्धार गरेको हो। ‘भैँसी चराउनका लागि राप्तीको टापुमा गएका उनिहरु बाढि बढेपछि टापुमै फसेका रहेछन्, ’प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले भने ‘उनिहरु सबैको उद्धार गरिएको छ।’  

मंगलबार बेलुका उनिहरु टापुमा फसेको जानकारी भएपनि उनिहरुको उद्धार गर्न कठिनाई भएको थियो।  फलतः टापुमा पसेका उनिहरु रातभर टापुमै बसेका थिए। ‘उनिहरु टापुमा फसेको भनेर मंगलबार बेलुका नै हामीहरुलाई जानकारी आएको थियो,’प्रमुख जिल्ला अधिकारी पौडेलले भने ‘राती उनिहरुको उद्धार प्रयास पनि भयो तर सफल भएन।’ उक्त टापुमा एउटा गोठ रहेको र उनिहरु त्यहि गोठमै रातभर बसेका थिए।  

उक्त स्थानमा राप्तीको बहाव दुईतिर बाट बग्छ। बिचमा टापु छ। मंगलबार उनिहरु भैंसी लिएर उक्त टापुमा जाने क्रममा वारीतिरको राप्तीको बहाव सानो थियो। उनिहरु सहजै तरेर टापुमा पुगेका थिए। तर बेलुका फर्कने क्रममा वारी तिरको बहाव बढिसकेको थियो। फलतः उनिहरु फर्कन सकेका थिएनन्।  

जिल्लामा लगातार बर्षा भैरहेकाले बाढी तथा पहिरोको जोखिम उच्च आँकलन गरिएको छ। मुलत: जिल्लाको राप्ती नदी तथा बबई नदी लगाएत साना खोलाहरुले वर्षेनी सास्ती दिँदै आएका छन्।

प्रकाशित: २ असार २०७८ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App