समाज

सिन्धुपाल्चोक पहिरोले क्षतिग्रस्त: ५० जना बेपत्ता, घरहरू बगाउने क्रम राेकिएन

सिन्धुपाल्चोकको हेलम्बु पहिरोले क्षतिग्रस्त भएको छ। खोलामा उर्लिएर आएकाे बाढीले मंगलबार बेलुका करिब ६ बजे गएको पहिरोका कारण त्यहाँका बस्ती,माछा फर्म बगाएको छ।  

हेलम्बुमा गएको पहिरोमा परि ५० जना बेपत्ता भएको अनुमान गरिएपनि एकिन हुन नसकेको त्यहाँका स्थानिय रवि खड्काले जानकारी दिए।  उनले भने, 'रातोपुल चनौटेका ३ जना बेपत्ता छन्, पहिरोमा बेपत्ता भएकाको स्थानीय प्रहरीले खोजी तथा उद्धारको काम गरिरहेको छ। पहिरोले बाटो अवरुद्ध भएकाले खोजीको कार्य समेत प्रभावित बनेको छ।'  

उनका अनुसार माटोको लेदोसंगै उर्लिएको खोलाले घरहरु बगाउने क्रम जारी नै छ। हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर तथा गाउँपालिकामा रहेका सातवटा रेम्बो ट्राउट माछा पालन गर्ने ९ वटा फर्मका पोखरीहरु बगाएको छ। तिम्बु बजारका बासिन्दा भने सुरक्षित स्थानमा सरेका छन्।  यस्तै वडा ७ को चनौटे बजार उच्च जोखिममा रहेको उनले बताए ।

मेलम्ची खानेपानीको मुहान केही समय थुनिएकोले पछि एक्कासी खोल्दा पानीले उग्ररुप लिएको हुन सक्ने स्थानिएको अनुमान छ। बस्तीमा वारीपारी गर्न बनाइएका झोलुङ्गे पुल समेत पहिरोले बगाएको छ। त्यहाँको वासीन्दा गाँउ सहरबीच सम्बन्ध विच्छेद नै भएको उनले बताए। उच्च जोखिममा रहेको बस्तीलाई प्रहरीले सुरक्षित स्थानमा सर्न माइकिङकमार्फत आग्रह अनुरोध गरेको छ। 

प्रकाशित: २ असार २०७८ ०२:४१ बुधबार

सिन्धुपाल्चोक पहिरोले क्षतिग्रस्त ५० जना बेपत्ता