पश्चिम क्षेत्रका नदी र यसका सहायक नदीजलाधारलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भइ बहने केही ससाना नदीमा बहाव उल्लेख्य बढ्ने र सतर्कता आसपास पुग्न सक्ने सम्भावना देखिएको छ। मनसुन सुरु भएकाले यी नदीमा पानीको बहाव बढ्दो छ।
नदीका तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान कार्यालयले अनुरोध गरेको छ। नदीहरुको हालको अवस्था मंगलबार बिहानको मापनअनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य अवस्थामा छ। जल तथा मौसम विज्ञान कार्यालयका अनुसार सबै नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै छ।
मंगलबार कर्णाली र महाकाली जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्ययम/भारी वर्षा भइ बहाव केही बढ्ने र केही ससाना नदीमा बहाव सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले जनाए। उनका अनुसार पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईका ससाना नदीजलाधारमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्नसक्ने पूर्वानुमान छ।
‘मंगलबार भेरी र यसका सहायक नदी जलाधारलगायत लुम्बिनी प्रदेशको पारासी, पाल्पा कपिलबस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम पूर्व, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्घुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भइ बहने ससाना नदीजलाधारमा बहाव उल्लेख्य बढ्न सक्ने पूर्वामानुमान छ,’ उनले भने, ‘केही नदीमा आकस्मिक बहाव भइ सतर्कता आसपास हुने पूर्वानुमान गरिएको छ।’
राप्ती नदीको भालुवाङ क्षेत्रमा ४।२० मिटर बहाव छ यहाँ पाँच मिटरसम्म पानीको बहाव पुग्दा सतर्कता तह मानिन्छ। ‘कर्णालीमा ७।५० मिटर पानी बहाव छ। यहाँ १० मिटर पुगे सकर्तता तह मानिन्छ,’ जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख पराजुलीले भने, ‘भेरीमा पाँच मिटर बहाव भए सतर्कता मानिन्छ भने मंगबार यहाँको पानीको सतह ३.६८ मिटर छ।’ उनका अनुसार महाकाली नदीमा तीन मिटर पानीको सतह छ भने सजकताका लागि ५।७ मिटर पानीको सतह हुनुपर्छ। मंगलबारसम्म पश्चिम सेतीको बहाव ४.४२ मिटर पुगेको छ। यहाँ ८.४० मिटरलाई सजकता मानिन्छ।
मंगलबार रातिसम्म पानीको सहत सतर्कता तहसम्म नपुग्ने र बुधबार बिहानदेखि पानीको सतह बढ्ने देखिन्छ। जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार ससाना खोलाहरुमा पानीको बहाव सतर्कता तहसम्म पुग्ने छ। भारि वर्षा भए सतर्कता तहभन्दा माथि पानीको बहाव जान सक्ने हुँदा सतर्कता भएर बस्नु पर्ने मौसमविद्हरुको भनाइ छ।
मंगलबार राति पहाडी क्षेत्रमा बाढीसमेत जान सक्ने जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख पराजुलीले जानकारी दिए। मंगलबार राति कर्णालीको कालीकोट, दैलेख, सुर्खेतको पश्चिमी क्षेत्र र सुदूरपश्चिमको अछाममा ठूलो वर्षा हुने अनुमान गरिएको छ। यहाँ सयदेखि एक सय ५० मिलीमिटरसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। भोलिसम्म पश्चिमका नदीहरुमा मध्ययम जोखिम छ। लगातार वर्षा भइरहे उच्च जोखिम बढ्न सक्ने बताइएको छ।
प्रकाशित: १ असार २०७८ १०:४६ मंगलबार