समाज

बन्दीपुर, लुम्ले, घोरेपानी र चितीमा भारी वर्षा, खतराको साइरन बजाइयो

लगातारको भारी वर्षाले पहाडी भेगमा जोखिम निम्त्याएको छ। जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तनहुँको बन्दीपुर, कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र लम्जुङको चितीमा भारी वर्षा भईरहेको छ। भारी वर्षाका कारण ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ।  

जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार गण्डकी प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा भईरहेको छ। भारी वर्षाका कारण ती क्षेत्रमा खतराको संकेत स्वरुव साइरन बजाइएको हो। उनका अनुसार वर्षाको मापन पोखरा सहरमै पनि बढि छ । दिउँसो सवा एकबजेसम्म बन्दीपुर, लुम्ले, घोरेपानी र चितीमा भारी वर्षा भईरहेको छ।  

२४ घण्टामा १४० मिलिमिटर भन्दा बढी वर्षा हुनुलाई खतराको संकेत मानिने उनले बताए । ढकालका अनुसार बन्दीपुरमा पछिल्लो २४ घण्टामा १४३, लुम्लेमा १७६, घोरेपानीमा १७७ र चितीमा १५१ मिलिमिटर वर्षा भएको थियो। बिहान साढे नौ बजेसम्म बन्दीपुरमा ९३.५ मिलिमिटर मात्र वर्षा भएको थियो। थप वर्षा हुँदा त्यो क्षेत्र पनि जोखिममा परेको उनले बताए । पोखरामा पनि पछिल्लो २४ घण्टामा १४३ मिलिमिटर वर्षा भएको छ।  

‘अहिले पनि निरन्तर र भारी वर्षा भईरहेको छ। यसले जोखिम निम्त्याएको छ,’ उनले भने, ‘निरन्तरको भारी वर्षाले पहाडी भेगमा पहिरो जाने, घर, पुल क्षति हुने खहरे र खोलामा बाढी आउन सक्ने जोखिम छ।’ क्षति नभएसम्म वास्ता नगर्ने भएकोले पनि यो बारेमा चासो कम भएको बताए। यस्तो जोखिमको बेला जोखिमयुक्त क्षेत्रका नागरिकलाई सचेत बनाउँदै टेलिकम मार्फत त्यस क्षेत्रका बासिन्दाका लागि सचेत हुन आग्रह गर्दै एसएमएस पठाउने गरिएको ढकालले बताए।

प्रकाशित: १ असार २०७८ ०७:५७ मंगलबार

भारी वर्षा खतराको साइरन