खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगनरपालिकामा रहेको धार्मिक तथा ऐतिहासिक स्थल मझुवागढीमा वावु (चिन्डो)को प्रतिमा निर्माण गरिने भएको छ । दिक्तेलको हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने धार्मिक तथा पर्यटकीय स्थल मझुवागढीमा पर्यटन मन्त्रालयको १२ लाख बजेटमा १३ फिट अग्लो वावु (चिन्डो)को स्तम्भ निर्माण गरिने भएको हो ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले सोमबार ९ फिटको पिलर सहित २२ फिट अग्लो हुने मझुवागढी वावु (चिन्डो)को स्तम्भ शिलान्यास गरेका छन् । नगरपालिकाको व्यापारिक केन्द्रकारुपमा रहेको दिक्तेलबजार नजिकै रहेको मझुवागढीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ किरात राईको सँस्कृति र परम्परासँग सम्वन्धित वावु (चिन्डो) निर्माण गर्न लागिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष किसन राईले बताए ।
समुन्द्र सतहदेखि करिब २ हजार मिटर उचाइमा पर्ने मझुवागढीमा फाइवरको १२० केजीको वावु (चिन्डो)को प्रतिमा निर्माण गर्न लागिएको हो । वावु अर्थात चिन्डो किरात राई समुदायमा जन्मदेखि मृत्युसम्मको संस्कारमा अनिवार्य उपयोग गरिन्छ । ऐतिहासिक मझुवागढी रहेको तथा कालिका भगवती मन्दीर रहेको गढीलाई विशेषगरी किरात र हिन्दुधर्मावलम्बीले आस्थाको केन्द्र मान्ने गरेका छन् । वावु (चिन्डो)को जग र पिलर भने ढुंगा, इटा, गिटी बालुवाबाट निर्माण गरिने छ । वावु (चिन्डो) निर्माणका लागि पर्यटन मन्त्रालयले नगरपालिकामार्फत बजेट उपलव्ध गराएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले बताए । मझुवागढीमा घुमफिर, दृश्यावलोकन तथा दर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको भिडभाड हुने गरेको छ ।
चारैतिर हरियाली जंगलले घेरिएको गढीमा घुमफिर गर्ने, पिकनिक जाने, अध्ययन भ्रमण गर्ने, साहित्यीक तथा सांगीतिक कार्यक्रम गर्नेसम्मका स्थानीय पुग्ने गरेका छन् । अग्लो डाँडा भएका कारण टाढा–टाढाका दृश्यावलोकनकालागि समेत स्थानीय मझुवागढी उक्लिने गर्छन् । यसबाहेक मझुवा कालिका भगवतीको दर्शन गर्न र भाकल पूरा गर्न आउनेको भीड दैनिक लाग्ने गरेको छ । गढीमा हरेक वैशाख पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने प्रचलन छ । भगवती मन्दिरमा कहिलेकहीँ दैनिकजसो बाख्राको पाठी बली दिने गरिन्छ ।
मझुवाको अर्थ ‘माझ’ भन्ने बुझिन्छ । पश्चिम दिशामा रहेको नुनथलास्थित महुरेगढी, पुर्वमा याम्खास्थित चुइचुम्पा गढी र दक्षिणमा रहेको राजापानीस्थित खाम्तेल गढीको माझमा रहेका कारण सो डाँडालाई मझुवा गढी भनिएको जानकार बताउँछन् । मझुवा गढीबाट चारैतिरका गढीहरु देखिन्छ । वि.सं. १८०४ सालसम्म किराती राजा रणवीर हाङले राज्य गरेको प्रमाणका आधारमा मझुवागढीलाई ऐतिहासिक थलो मानिन्छ । गढीको उत्तर दिशामा बारुद, ढुङ्गा र हतियार निमार्ण गर्ने भट्टीको भग्नावशेष अहिले पनि देख्न सकिन्छ । गढीको बिच भागमा मौली (रणवीर राजाका रैतिहरुले दशैं मान्नका लागि ल्याएका राँगा र बोका राख्ने ठाँउ) यथावत छ ।
मौलीको केही अगाडि पूजाआजा गर्ने ठाउँ रहेको छ । त्यसभन्दा केहीमाथि राजाको दरवार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ अवलोकन गर्न सकिन्छ । गढीवरीपरि बंकरको घेरा समेत प्रष्ट देख्न सकिन्छ छ । गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ, पूर्वतर्फ फूलपातिडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । गढीको केही तल कालिका भगवती मन्दिर रहेको छ ।
प्रकाशित: १ असार २०७८ ०४:४९ मंगलबार