समाज

रक्तदातालाई धन्यवाद दिई विश्व रक्तदाता दिवस मनाइँदै

हरेक वर्ष जुन १४ तारिखमा मनाइँदै आएको विश्व रक्तदाता दिवस यस वर्ष पनि विभिन्न चेतनामूलक कार्यक्रम गरि मनाइँदैछ। 'नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ' नारालाई सार्थक बनाउन आज तीन हजारभन्दा बढी रक्तदाताहरुलाई धन्यवाद मोबाइल सन्देश पठाएको छ।  

दिवसको पूर्वसन्ध्यामा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्र तिम्सिनाले कोभिडको महामारीमा सबैभन्दा बढी प्रभावित मुलुक नेपालका रक्तदाताहरुले अर्काको जीवन जोगाउन रक्तदान गरिरहेकाहरूमा सम्मान व्यक्त गरे। 

'आफ्नो लागि केही अपेक्षा नराखी दान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई हृदयदेखि नै नमन छ,' स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) का निर्देशक डा. रुणा झाले भनिन्। उनले थपिन्, 'रगतको समुचित प्रयोग हुनुपर्ने कुरामा एनपीएचएल सचेत छ।'

नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री दीपेन्द्र ढकाल, कार्यकारी निर्देशक उमेश ढकाल र रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेल, एनपीएचएलका सिनियर प्याथोलोजिष्ट डा. रेखा मानन्धरले दिवसकै अवसरमा आम रक्तदाताहरुलाई धन्यवाद दिएका छन्।  

रक्तदाता दिवसकै अवसरमा रक्तदाताहरु र रक्तदाता संघसंस्थाहरुसँग छलफल कार्यक्रम आयोजना गरिएको छ। व्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले स्वैच्छिक, अवैतनिक रक्तदाता बढाउन र रेडक्रसको रक्तसञ्चार सेवालाई सहयोग गर्न संस्था प्रतिवद्ध रहेको बताए।

१५२ पटक रक्तदान गरेकी नीता घिरइया, ३५ वर्षदेखि विभिन्न महादेशमा गई रक्तदान गरी रक्तदान गर्दै आएका अभियन्ता अर्जुन मैनालीले रक्तदाता उत्प्रेरणा बढाउनुपर्ने, रक्तदानको महत्व माध्यामिक विद्यालयको पाठ्यपुस्तकमा समेटिनुपर्ने, आम यूवा समक्ष रक्तदान शिक्षा लिएर पुग्नुपर्ने तथा तथ्याँकहरुको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए।  

दिवसकै अवसरमा बागमती प्रदेश समितिले जुनियर युवाबीच कविता प्रतियोगिता आयोजना गरेको र १४ जुनको बेलुकी नतीजा सार्वजनिक हुने छ।

सोमबार देशभरि नै दिवसको अवसरमा रक्तदान कार्यक्रम राखिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए। नेपालमा २ लाखको हाराहारीमा नियमित रक्तदाता रहेको, महिला रक्तदाता १७ प्रतिशत मात्रै भएकोले शुलभ रगत हुनको लागि यूवा रक्तदाता र महिला रक्तदाताहरु बढाउन आवश्यकता रहेको पौडेल बताउँछन्।  

शुलभ, गुणस्तरीय र मर्यादित सेवाको अवधारणा बमोजिम नेपालको रक्तसञ्चार सेवा अघि बढिरहेको जानकारी गराउँदै निर्देशक पौडेलले संघ, प्रदेश र पालिका सरकारहरुले सहयोग गर्दै गएकोमा खुसी व्यक्त गर्दै आम सर्वसाधारणलाई रगत जस्तो आधारभूत स्वास्थ्य सेवामा सहुलियत बनाउन रक्तदाता, रक्तदान गर्ने संघसंस्था र सरकारको थप सहयोगको अपेक्षा गरे।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App