धादिङको गजुरीमा बिहीबार काठमाडौंतर्फ आउँदै गरेको बा४च २७९ नम्बरको मारुती अटो कारलाई काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा३ख ७३९३ नम्बरको टिपरले ठक्कर दियो । ठक्करपछि ३३ वर्षीय चालक प्रकाश अधिकारीको घटनास्थलमै ज्यान गयो । आफन्तका अनुसार टिपरले गलत लेन दायाँतर्फ ओभरटेक गरेर कारलाई ठक्कर दिएको थियो । तर घटनापछि मुचुल्का गर्न पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कारकै गल्ती देखाएर मुचुल्का बनाएपछि आफन्तले क्षतिपूर्ति पाउन सकेका छैनन् ।
टिपरको ठक्करले चालक बस्ने सिट र ढोकातर्फको पुरै भाग छियाछिया भएको छ । मृतकका दाइ किशोर अधिकारीका अनुसार टिपरचालक, टिपरधनी र यातायात व्यवसायी धादिङकै भएकाले प्रहरीसँगै मिलेमतो गरी मुचुल्का बनाएका छन् । जसले पीडित पक्षले क्षतिपूर्ति तथा न्याय पाउन सकेका छैनन् । ‘म पनि गाडी चलाउँछु तर प्रहरीले गलत मुचुल्का बनाएको छ,’ उनले भने, ‘घटनास्थल हामीले पनि अवलोकन गरेका छौं, प्रहरीले गलत मुचुल्का उठाएको छ ।’
उनका अनुसार मृतक कार चालकका २ जना नाबालक छोरा छन् । अभिभावक नै गुमिसकेकाले उनीहरूलाई हुर्काउन तथा पढाउन आर्थिक समस्या देखिने भएपछि पीडित पक्षले क्षतिपूर्ति माग गरेका छन् । उनीहरूले ३० लाख रुपैयाँ दिन आग्रह गरेका छन् । तर यसबारे टिपरचालक, प्रहरी, टिपर धनीले बेवास्ता गरेको मृतकका दाइ अधिकारीले बताए । उनले घरको अवस्था पनि नाजुक भएको जानकारी दिए । ‘हामीसँग किरिया खर्चसमेत छैन, क्षतिपूर्ति दिए मान्छौं नत्र शव बुझ्दैनौं,’ उनले भने, ‘प्रहरीले नै हाम्रो मागप्रति चासो दिएको छैन ।’
दुर्घटनालगत्तै मृतक अधिकारीलाई मेडिसिटी अस्पताल ललितपुर लगिएको थियो । अस्पतालले घटनास्थलमै ज्यान गएको पुष्टि गरेको थियो । आफन्तले क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने बताएका छन् । टिपरले ठक्कर दिएर कार चालकको ज्यान गएपछि प्रहरीले टिपरचालक बुद्ध तामाङलाई पक्राउ गरेको छ । चालकलाई नियन्त्रणमा लिएर आफन्तलाई क्षतिपूर्ति दिलाउने जिम्मा प्रहरीको भए पनि प्रहरीले तामाङलाई हिरासतमा राखेर छाड्ने गरी मुद्दा अघि बढाएको पीडित पक्षको भनाइ छ । त्यसो त घटनालगत्तै टिपरचालक तामाङले मृतक अधिकारीको पर्स, मोबाइल घडी पनि आफूसितै राखेको आफन्तले बताए । मृतक अधिकारीले केही वर्षअघि ऋणमा कार किनेर भाडामा चलाउँदै आएका थिए ।
इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्काले चालकलाई सवारी ज्यानसम्बन्धी मुद्दा चलाइएको र टिपर प्रहरीकै नियन्त्रणमा रहेको बताए । ‘उहाँहरूले थप क्षतिपूर्ति टिपर व्यवसायी समितिसँग माग गर्नुभएको छ, हामीले कानुनअनुसार न्याय र क्षतिपूर्ति दिलाइदिने हो,’ उनले भने, ‘दुर्घटना हेर्दा कारकै गल्ती देखिन्छ, कार गलत लेनमा गुडेकाले गम्भीर घटना भएको हो ।’ उनले पीडित पक्षलाई उचित क्षतिपूर्ति दिलाउन पहल गरिएको बताए ।
असुरक्षित बन्दै सडक यात्रा
टिपरकै कारणले धादिङमा बिहीबार भएको यो दुर्घटना नौलो घटना भने होइन । लामो होस् या छोटो रुटमा अघिकांश सवारी दुर्घटना टिपरकै कारणले हुने गरेका छन् । लेन मिचेर सडक नै कब्जा गरेर बतासिने टिपरले सवारी यात्रालाई असुरक्षित बनाइरहेको छ । तर मानिसको ज्यानै जाने गरी भएका कैयौं दुर्घटना भने सामान्य क्षतिपूर्ति र मिलेमतोमा सल्टिने गरेका छन् । कसिलो कानुन नहुँदा ठक्कर दिएर अरूको ज्यान लिएका सवारीचालकले पुनः सवारीसाधन हाँकिरहेका छन् । यातायातकर्मी प्रेमबहादुर थापाले सडक असुरक्षित टिपरकै कारणले भएको बताए ।
प्रकाशित: ३० जेष्ठ २०७८ ००:५२ आइतबार