समाज

भारत जाने बालबालिका बढ्दो, निकृष्ट काम गर्न बाध्य

फाइल तस्बिर

नेपालबाट भारत जाने बालबालिकाहरूको संख्या बढ्दो छ। नेपालबाट भारत जाने बालबालिकाहरूलाई सस्तो मूल्यमा कामका लागि लग्ने गरेको समेत पाइएको छ।  

गरिबी, अशिक्षाजस्ता कारण सानो उमेरमै कामका लागि भारत जाने र निक्कै निकृष्ट काम गर्ने गरेकोमात्र नभई घर छोडी गएका बालबालिकाहरुलाई बालश्रममा लगाइने गरेको आफन्त नेपालले जनाएको छ।

‘यसको पछिल्लो उदाहरण हो, भारतको एक छाला कारखानाबाट ३१ बालबालिकालाई उद्धार गरिनु र त्यसमध्ये ५ जना नेपाली पर्नु’, आफन्त नेपालका निर्देशक नवीन जोशीले नागरिक न्यूजलाई  भने ।  उनका अनुसार उद्धार गरिएका बालकहरु १३ देखि १७ वर्ष उमेर समूहका थिए । 

उनले भारतीय कारखानाबाट उद्धार  गरिएका ती बालकहरु दुई महिनाअघि भारतमा कामकै लागि लगिएको खुलेको बताए। कारखानामा बालकहरूलाई बालश्रम गराइएको सूचनाको आधारमा छापा मारिएको बताउँदै उनले लुकीछिपी भारत जाने र जस्तोसुकै जोखिमको काम गर्न पनि पछि नपर्ने बालबालिकाहरुको संख्या समेत बढेको जानकारी दिए।

बालबालिकाहरुलाई तर्साएर, धम्क्याएर र कम ज्यालामा पनि काम गराउन सकिन्छ, अझ कतिपय कामहरु व्यस्कले भन्दा बालबालिकाहरुले छिटो र छरितो गर्न सक्छन्, त्यसका लागि पनि बालबालिकालाई भारत लग्ने गरिएको निर्देशक जोशीको भनाइ छ। त्यसरी लगिएका बालबालिकाहरुलाई निक्कै कष्टपूणर् तरिकाले राख्ने गरिएको पनि उनी बताउँछन्।

उनका अनुसार भारतबाट उद्दार गरिएका ती बालकहरू रौतहटका हुन्। युनाइटेड नेसनल चिल्ड्रेन फन्ड अर्थात् संयुक्त राष्ट्रसंघीय बाल कोष (यूनिसेफ) का अनुसार विगत ४ वर्षमा बाल श्रमिकको संख्यामा विश्वभरि ८४ लाखले वृद्धि भएर कूल १६ करोड पुग्नुका साथै दशौं लाख अन्य बालबालिका कोभिड १९ को प्रभावको कारणले बालश्रमको जोखिममा छन्।

जुन महिनाको १२ तारिखमा बालश्रमविरुद्ध दिवस मनाइने गरेको छ। युनिसेफको नयाँ प्रतिवेदनका अनुसार बालश्रममा ५ देखि ११ वर्ष समूहको उमेरको बालकहरूको संख्या बढ्दो छ। त्यस्तै ५ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरूको समूहले भने खतरनाक काममा समेत संलग्न भएको तथ्यांकले जनाएको छ।  

कोभिड १९ का कारणले स्कुलहरू लामो समयदेखि बन्द रहेका अवस्था छ। यस कारणले पनि बालश्रमको श्रमिक समय बढ्ने यूनिसेफको तथ्यांक रहेको छ। विश्वभरको रिपोर्ट हेर्दा विशेषतः केटीभन्दा केटा बढी बालश्रममा छन्।

प्रकाशित: २९ जेष्ठ २०७८ ११:१९ शनिबार

नेपाल भारत