समाज

पाँच बालिकाको मृत्युपछि, शोकमग्न गाउँ

एकै गाउँका पाँच बालिकाको मृत्युपछि भावविहवल आफन्त। तस्बिर: नागरिक

धनुषाको मुखियापट्टी–६ मुसरनिया स्थित निजी पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ । शुक्रबार बाख्रा चराउन गएका बालिकाहरु पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

मुखियापट्टी मुसरनिया–६, स्थित हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर सोही गाउँका पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मिनिया यादव, जोगिन्द्र भगतका े १० वर्षीया छोरी चन्द्र कुमारी भगत, राजगिर पुर्वेको १३ वर्षीय छोरी मन्जु पुर्वे, जगरनाथ ठाकुरीको १२ वर्षीया नातिनी चाँदनी ठाकुर र उतिम सहनीको १२ वर्षीया छोरी ललिता सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

पहिले एक जना डुबेको र उनलाई बचाउन जाँदा सबै पाँच जना डुबेको अनुमान प्रहरीको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्र मिश्रका अनुसार यस गाउँका ७ जना बालिका बाख्रा चराउन चउरीतर्फ गएका थिए । खेतमा खन्दै गरेको पोखरीमा जमेको पानीमा उनीहरु नुहाउन पसेका थिए । 

दुई बालिका भने पसेनन् । पाँच जना नुहाउन पस्दा डुबेपछि दुई बालिका गाउँमा पुगेर स्थानीयलाई जानकारी गराएका थिए । त्यसपछि स्थानीय पुगेर हेर्दा उनीहरु डुबिसकेका थिए । खबर पाएर पुगेको प्रहरीले घटनास्थल पुगेर पोखरीबाट शव निकालेको थियो । एकै गाउँका पाँच बालिकाको मृत्युले गाउँ शोकमा डुबेको छ।

प्रकाशित: २८ जेष्ठ २०७८ १२:४२ शुक्रबार

पाँच बालिकाको मृत्यपछि शोकमग्न गाउँ