समाज

उदयपुरमा बोलेरो दुर्घटना, चालक गम्भीर

उदयपुरमा दुर्घटना भएकाे बोलेरो जिप। तस्बिर: नागरिक

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा चालक गम्भीर घाईते भएका छन्। कटारी बजारदेखि कुखुराको दाना (चारो) बाकेर ताप्ली गाउँपालिकातर्फ जाँदै गरेको बा १३ च ५६४८ नं. को जिप उदयपुरगढी गाउँपालिका ३ को चप्लेटीमा दुर्घटना हुँदा चालक घाईते भएका हुन्।

घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको बोलेरो सडकदेखि झण्डै ५ सय मिटर तल खसेर कच्याककुचुक भएको छ। दुर्घटनामा परी चालक ताप्ली गाउँपालिकाकै २३ वर्षीय आकाश राई गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । सोमबार साँझ साढे ७ बजे भएको दुर्घटनाबारे ढिलो जानकारी आएकाले उद्धार गर्न केही ढिला हुँदा चालक बेहोस भएको प्रहरी भनाई छ।  

निषेधाज्ञा र कोभिडका कारण मानव चहलपहल पातलो भएकाले पनि दुर्घटनाबारे ढिलो जानकारी आएको हुनसक्ने प्रहरीकाे भनाई छ। घाईतेलाई उदयपुरगढीस्थित प्रहरी चौकीबाट खटेको टोलीले दुर्घटनास्थलबाट उद्धार गरी कटारी अस्पतालमा उपचारार्थ भर्ना गरेको थियो। तर, त्यहाँ उपचार संभव नभएपछि मंगलबार मध्यान्ह बेहोस अवस्थामै रहेका चालकलाई काठमाडौं रिफर गरिएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए। 

प्रकाशित: २५ जेष्ठ २०७८ ०८:०७ मंगलबार

उदयपुरमा बोलेरो दुर्घटना चालक गम्भीर