समाज

धादिङमा जेठ मसान्तसम्म निषेधाज्ञा थप

धादिङमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि बसेको कोभिड व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो । 

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत वैशाख २१ बाट जारी गरिएको निषेधाज्ञा विभिन्न चरण चरणमा थप गरिएको थियो । दोस्रो पटक थपिएको म्याद शनिबार राती १२ बजे सकिँदै छ । यो सँगै जिल्लामा निषेधाज्ञा तेस्रो पटक थपिएको छ ।  

बैठकले निषेधाज्ञा समयमा खाद्यान्न, फलफूल तरकारी र दुग्धजन्य पदार्थ लगायतका अत्यावश्क सामाग्री बिक्री गर्ने पसल खुल्ने समय १ घण्टा थप गरेको छ । हाल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै खुल्दै आएको अत्यावश्क सामाग्री बिक्री गर्ने पसल अब बिहान १० बजेसम्म खोल्न पाउने भएको छ । टेकअवे सेवा दिन चाहने होटल तथा रेष्टुरेन्टहरुले सोको सुचना टाँस गरि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कात्र सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

व्यवसायीहरुले नियमित आपूर्ति नगरी, कृत्रिम अभाव देखाई मूल्य वृद्धि, कालोबजारी, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ । साथै बैठकले यस अघिका बैठकमा भएका निर्णयहरुलाई निरन्तरता दिएको छ । निषेधाज्ञा अवधिभर सुर्ति, चुरोट र मदिराजन्य उत्पादनहरु जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न र बिक्री वितरण गर्न रोक लगाएको छ ।

निषेधाज्ञामा अत्यावश्यक सेवामा संलग्न हुने कर्मचारीलाई आइतबारदेखि बिहीबारसम्म विहान ९ देखि १० बजेसम्म र साँझ ५ देखि ६  बजेसम्म, शुक्रबार विहान ९ देखि १० बजेसम्म र दिउँसो ३ देखि ४ बजेसम्म पोषाक र परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न दिने निर्णय गरेको छ । सर्वसाधारण अत्यावश्यक बाहेक घरबाहिर निस्किन नपाउने र मानिसको भिडभाड हुने सबै गतिविधिमा भने रोक लगाइएको छ । 

यस्तै, अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारीबाहेक सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रकाशित: २२ जेष्ठ २०७८ ०४:२२ शनिबार

निषेधाज्ञा धादिङ कोरोना भाइरस