समाज

वीरगञ्ज नाका हुँदै बेचिन लागेका दुई युवतीको उद्धार

गोरखा जिल्ला घर भएकी २० वर्षीया विना क्षेत्री(नाम परिवर्तन) र २२ वर्षीया रिमा गुरुङ (नाम परिवर्तन) बेचिनबाट जोगिएका छन्।  

उनीहरुलाई जेठ १८ गते बिहान प्रहरी, स्थानीय र आफन्त नेपालले उद्वार गरेको हो। श्रीमान विदेशमा रहेका गोरखा माईती र घर तनहुँ भएकी रिमालाई उनकै आफ्नै आमाजु र आमाजुका श्रीमानले बेच्न प्रयास गरेको खुलेको छ। रिमाको दुई वर्षिय छोरो समेत रहेका छ। सीता क्षेत्री भनेर चिनिने सकिना खातुन (आमाजु) र अगसुर सैफि (आमाजुका श्रीमान)ले विना र रिमा दुबैलाई बेच्न भारत लग्दै गरेको क्रममा प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले बाँकेको नेपालगञ्जमा एक घन्टा पूजाका लागि कन्या तथा चोखो युवती चाहिएको बताउँदै त्यहाँ पूजा गरेबापत १ लाख पाउने लोभ देखाउँदै उनीहरुलाई नेपालगञ्ज पुर्‍याउने योजना बनाएका थिए। सोही योजना अनुासर तनहुँबाट टिप्परमा चढाइ जेठ १७ गते वीरगञ्ज ल्याई बसपार्कको एक होटलमा उनीहरुलाई राखिएको थियो। त्यहाँ पुगेपछि दम्पत्तिले भारतको बेतिया जानुपर्ने भयो भन्दै ती युवतीहरुलाई सीमा नजिकै पुर्‍याएको आफन्त नेपाल वीरगञ्जका संयोजक मनु रानाले नागरिकलाई बताइन्।  

त्यहाँ पुगेपछि उनीहरुले तराईवासी मात्र देखेपछि रिचार्ज किन्ने बहाना बनाई पसलमा गई बेतिया भन्ने ठाउँ कहाँ हो ? भनी सोध्दा भारतमा हो भनेपछि आफूहरु जोखिममा रहेको युबतीहरुले महसुस गरेको संयोजक रानाले बताइन्। ती युवतीहरुले स्थानीयको सहयोगमा पुलिसलाई बोलाएको रानाको भनाइ छ।

पक्राउ परेका ती दम्पत्तिलाई जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक अनुसन्धान गरिरहेको छ। उद्वार गरिएका युवतीहरु अहिले आफन्त नेपालको गृहमा छन्। आफन्त नेपालका निर्देशक ईन्द्र राज भट्टराईका अनुसार निशेषाज्ञाको समयमा पनि मानव बेचबिखन रोकिएको छैन। आधिकाशंले जागिर गुमाउनु परेकोले छ।आर्थिक स्थिति कमजोर भएका युवतीहरुलाई पैसाको लोभ देखाउँदै मानव बेचबिखन जस्ता अपराधिक गतिविधि बढेको उनको भनाइ छ। 

प्रकाशित: २१ जेष्ठ २०७८ १२:१४ शुक्रबार

वीरगञ्ज नाका