समाज

रौतहटका एक वडाध्यक्षको कोरोनाले मृत्यु

कोरोना संक्रमणका कारण रौतहटको गरुडा नगरपालिका २ का वडाध्यक्ष विशुनदेव सहनीको मृत्यु भएको छ। कोरोना संक्रमण भएपछि काठमाडाैंस्थित निजामती अस्पतालमा करिब तीन हप्तादेखि उपचार गराइरहेका वडाध्यक्ष सहनीको बिहीबार राति मृत्यु भएको हो।

नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सहनीको मृत्युप्रति शोक वक्तव्य जारी गर्दै गरुडा नगर प्रमुख इन्नु राय यादवले नगरपालिकालाई ठूलो क्षति भएको जनाएका छन्। वडाध्यक्ष सहनी नगरमा न्यायिक समितिका पनि सदस्य थिए।

स्थानीय राजनीतिमा निरन्तर सक्रिय सहनी तत्कालीन गेडहीगुठी गाविसका गाविस अध्यक्षमा पनि निर्वाचित भएका थिए। यसैगरी, गेडहीगुठी गाउँ पञ्चायतको प्रधान पञ्चमा समेत निर्वाचित भएका सहनी चार दशकअघि कैयौँ गाउँको पञ्चायत हुँदा विशुनपूर्वा मानपुर पञ्चायतमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए।

वडाध्यक्ष सहनीको शुक्रबार दिउँसो गेडहीस्थित परम्परागत श्मशानघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।  

एक महिनाभित्र गरुडा नगरपालिकाका दुई वडाध्यक्षको मृत्यु भएको छ। केही हप्ता पहिले वडा नम्बर ७ का वडाध्यक्ष रामईश्वर राय यादवको उपचारकै क्रममा काठमाडौँमा मृत्यु भएको थियो।

प्रकाशित: २१ जेष्ठ २०७८ ०६:०८ शुक्रबार