समाज

दुखिरहने द्वन्द्वको घाउ : निभे कै हो न्यायको दियो ?

यतिबेला रोल्पाको दुर्गम गाउँकी ६० वर्षीया रजमती ‐नाम परिवर्तन)सँग जीउने आधार केही छैन। स्कुलको अनुहार नदेखेकी उनलाई बाचुन्जेल पीडाको पहाडले थिचिरहेको छ। जीवनमा थाहा पाउने भएदेखि खुसी र सुख उनको दैलोसम्म कहिल्यै आएन। आयो त केवल पीडा र छटपटी। आमाको न्यानो काख आफूपछि जन्मिएका भाइबहिनीले खोस्दै गएपछि आफ्नो गोरेटो आफै खोज्नुको बिकल्प भएन। हात खुट्टा लागेदेखि दाउरा घाँस गर्दै हुर्केकी रजमती १६ बर्षे बाला उमेरमा बिहे गरेर घर गएपछि १८ बर्षको उमेरमा आमा बनिन्।  

गर्भवती र सुत्केरी अवस्थामा अस्पताल नदेखेकी उनलाई आज पनि त्यहाँ पुग्ने मौका मिलेको छैन। सुत्केरी हँुदा गतिलो स्याहार नपाएकी उनले त्यसको दुई वर्षपछि अर्को सन्तान जन्माइन्। यो पटक पनि रजमतीले अस्पताल देखिनन्। सात दिनको लामो प्रसव पीडापछि घरमै बच्चा जन्मियो। जेनतेन जीवनको गाडी चलिरहेको उनको यात्रा गन्तव्य विनाको जस्तै बनिरहेको थियो। ‘सानो छोरा अढाइ बर्षमा साह्रै बिरामी प¥यो। गाउँका धामीझाँक्रीका अनुसार उसलाई भुत र बोक्सी लागेको रहेछ। जति गर्दा पनि बचाउन सकिएन। अस्पताल लैजाने पैसा पनि थिएन,’ रजमतीले भनिन्, ‘मेरो घर गाउँभन्दा अलि टाढा नै थियो। जग्गा जमीनबाट खान नपुग्ने। श्रीमान मजदुरी गर्नु हुन्थ्यो। कहिले काहिँ इन्डिया पनि जानु हुन्थ्यो। इन्डिया गएर गरेको मजदुरीले हाम्रो परिवार पालेको थियो।’ दुखै भए पनि घर चलेको जनाउँदै उनले भनिन्।

रजमतीको नियमित दैनिकीमा तत्कालीन माओवादी सशस्त्र द्वन्द्वले प्रत्यक्ष असर सुरु गर्यो। ‘त्यो समयमा दुबै पक्षले हामीलाइ सताउने गर्थे। माओवादीले मुखमा पर्न लागेको गाँस खोसेर खाइदिन्थे भने पुलिस आर्मीले माओवादी पालेको आरोपमा सताउँथे।’ रजमतीले बिगत सुनाइन्। राज्य र बिद्रोही दुबै पक्षको कुनै कतै पहुँचमा नरहेका स्थानीयले बिनाकारण सास्ती भोग्नु परेको दृष्य गाउँहरुमा आज पनि एकादेशका कथाजस्तै सुनिन्छन्।

निभ्न लागेको रजमतीको जीवन अनि उनको एक भोटलाई बेवास्ता गर्दै पीडकलाई उन्मुक्ति दिने छलफलले मानवताको धज्जी उडाएको छ।

एक दिन दाङदेखि गस्तीमा आएका सेनाको टोलीले रजमतीको संसार उजाड बनाइ दियो । ‘कति साल हो भुलेँ। युद्ध चर्किएको थियो। एक रात गाउँ छिरेका तीनजना आर्मीले मलाई पालैपालो बलात्कार गरे। त्यो दिन सम्झन पनि सक्दिनँ।’ लामो समय भक्कानिँदै रजमतीले भनिन् ‘रातदिन कसरी बिताउने तनाब हुन्थ्यो। त्यस्तो व्यवहार गर्नुभन्दा त गोली हानेर मारेको भए पनि हुन्थ्यो। के गर्ने मनभित्रै पीडा राखेर बाँचेकी छु।’ घरछेउमा बलात्कारको सिकार भएकी उनी मर्ने चाहना हुँदाहुँदै पनि सन्तानका कारणले बाँच्न विवश भएको बताउँछिन्।

‘श्रीमानलाई टिबि लागेको थियो। मेरो बलात्कार भएपछि त्यसको पीडाले रक्सी खान थाल्नुभो। बिरामी मान्छे। रक्सीले के धान्थ्यो। उहाँ पनि बित्नु भो,’ उनले सुनाइन् ‘रुँदै दिन बित्दै थियो। छोरीले १५ वर्षकै उमेरमा आफै बिहे गरेर गई। म एक्लो भएँ। अहिले न म मर्न सक्छु, न त बाँचेर केही गर्न।’ सरकारले दिएको ज्येष्ठ नागरिक भत्ताको दैनिकी चल्छ भने कहिलेकाहिँ छोरीको घरमा आएर दिन गुर्जाछिन्।  

रजमतीको दैनिकी यसरी बित्दै थियो। तर अनायासै फेरि अर्को चोट थपियो। बर्षौं पहिले भोगेको बलात्कारको घटना फेरि दोहोरियो। ‘गएको भदौ ५ गते गाउँमा तिजको नाच चलिरहेको थियो। म पनि हेर्न गएँ। बेलुका ९ बजेतिर मलाई निन्द्रा लागेकाले घर फर्किँदै थिएँ। घर नजिकै बारीमा गाउँकै एकले मलाई मुख छोपेर पल्टायो।’ ६० वर्षीया रजमतीले सुनाइन् ।

गम्भीर मुद्रामा उनले लामो सास तान्दै अलि बेरपछि सुनाइन् ‘जिउ भरीको कपडा च्यातेर कुटपिट गरी मलाई बलात्कार गर्यो। म बेहोस भएछु। नाच हेरेर फर्किँदै गरेका अरुले देखेपछि मलाई उठाएर घरभित्र लगेछन्। म ब्युझिँदा शरिरमा कुनै कपडा पनि थिएन। ओढ्ने ओढाएर सुताएका रैछन्।’ पशुवत तरिकाले घटाइएको घटना सुनाउँदै उनले भनिन् ‘मैले प्रतिकार गर्दा उसले हानेका जीउभरि निलडामहरु थिए।’

द्वन्द्वकालमा सेनाबाट सामुहिक बलात्कारको सिकार बनेकी उनले न न्याय पाइन् न त राहत अनि सान्त्वना नै। उनको दैलोमा कहिल्यै मानव अधिकारवादी त आएनन् नै आउनै पर्ने सत्यनिरुपण तथा मेलमिलाप आयोगको खबर समेत उनलाई छैन।

पछिल्लो समयको बलात्कार पनि स्थानिय जनप्रतिनिधि र प्रहरीको छलफलमा टुङगाइएको छ।

बलात्कार गर्नेका परिवारले रजमतीलाई दाङ लगेर उपचार गरे। ‘९१ हजार दिन्छौं भनेका थिए, तर त्यो पनि दिएनन्। प्रहरी र वडा कार्यालयमा जानकारी दिएपछि बलात्कार गर्ने केटो नाबालक भएको कारण देखाउँदै उसलाई पनि थुनेनन्।’ स्थानिय प्रशासन र जनप्रतिनिधिले आर्थिक लेनदेनमा कुरा मिलाएपछि फेरि पनि रजमतीका लागि न्यायको दियो निभेको छ।  

विगतको द्वन्द्वले यतिबेला रजमतीजस्ता धेरै चेलीहरु मनको कुनामा विगतको पीडा लुकाएर बाँचिरहेका छन्। हिजो बन्दुक बोक्ने दुबैथरि यतिबेला सत्ताको दैलोभित्र छन्। उनीहरुले गरेका कर्तुतहरु सार्वजनिक हुने डरले ती मुद्दाहरु नउठोस् भन्ने चाहन्छन्। तर अनाहकमा अमानवीय व्यवहार भोगेकाहरु बिगतले दुखाउँदा छटपटिन्छन्, उनीहरु। कुहिरोको कागजस्तै बनेकी रजमतीलाई यतिबेला शारीरिक र मानसिक उपचारको खाँचो छ।

राजनितिक परिवर्तनले चेतनास्तर उठेको समाज भनिए पनि दूरदराजका चेलीहरु विगतमा जस्तै आज पनि असुरक्षित छन्। स्थानीयको घर छेउमा आएको सरकार अनि त्यहाँभित्र बिराजमान जनप्रतिनिधिहरु विभिन्न प्रलोभन र भविश्यमा आउने भोटको लेखाजोखा गर्दै गम्भीर अपराधहरु पनि मेलमिलापमै टुङगाउने गर्दछन्।

निभ्न लागेको रजमतीको जीवन अनि उनको एक भोटलाई बेवास्ता गर्दै पीडकलाई उन्मुक्ति दिने छलफलले मानवताको धज्जी उडाएको छ।  

२०५२ साल फाल्गुन १ गते रोल्पाको ‘होलेरी’ इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूमिगत भएको थियो। त्यो आक्रमणका ३ जना हस्तीहरु अहिले रोल्पाबाट निर्बाचित जनप्रतिनिधि छन्। प्रतिनिधि सभामा जितेका बर्षमान पुन, प्रदेशसभा ‘क’ बाट निर्बाचित कुलप्रसाद केसी सोनाम र ‘ख’ बाट निर्वाचित दिपेन्द्र पुन सिजल ‘होलेरी’ आक्रमणमा सहभागी पात्र हुन्। त्यसो त आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन वर्तमान उपराष्ट्रपति छन्।

तत्कालीन सशस्त्र द्वन्द्वका मृतक, बेपत्ता परिवार जस्तै घाइते अपाङ्ग र कतिपय पूर्व लडाकुसमेत घर न घाटका भएका छन्। त्यो बेला यौन हिंसामा परेका दर्जनौं महिलाहरु बिनाबाबुका सन्तान बोकेर नागरिकताका लागि भौंतारिदैछन्। द्वन्द्वले सृजना गरेको मानसिक समस्याका बिषयमा त झनै कोहीको ध्यान पुग्न सकेको देखिँदैन।  

प्रकाशित: १९ जेष्ठ २०७८ ०८:०३ बुधबार

रोल्पा द्वन्द्वको घाउ