समाज

सुदूरमा कोरोना कहरः घट्दै छ संक्रमण दर

भारतबाट स्वदेश फर्केकाहरु गौरीफन्टा नाकामा चेकजाँचका लागि पालो पर्खदै । तस्बिरः पुष्पराज/नागरिक

नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा बढेको संक्रमण दर पछिल्लो एक साता यता भने घटेको छ । सोमबार मात्रै सुदूरपश्चिममा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अघिल्लो समय दैनिक १० जनादेखि बढीको संख्यामा मृत्यु हुने गरेको भए पनि पछिल्लो समयमा भने दैनिक १० जना भन्दा कम संख्यामा मृत्यु भइरहेका छन् । यस्तै सक्रिय संक्रमितको संख्या पनि घट्दो अनुपातमा रहेको तथ्याङ्कले देखाएको छ ।  

सोमबार कैलालीमा २ जना, कञ्चनपुरमा १ जना, बैतडीमा १ जना र बाजुरामा १ गरी ५ जनाको मृत्यु भएको छ । यस्तै सोमबारै अछाममा ५९, डडेल्धुरामा ८ दार्चुलामा ८०, डोटीमा ४९, कैलालीमा ४४, कञ्चनपुरमा ६८, बैतडीमा ५, बझाङमा ४९ र बाजुरामा १७ जना गरेर सुदूरपश्चिममा ३ सय ७९ जना नयाँ संक्रमित फेला परेका छन् । दैनिक एक हजार बढीको संख्यामा पोजेटिभ देखिने सुदूरपश्चिममा एक साता यता भने पाँच सय भन्दा कमको संख्यामा संक्रमित भेटिन थालेका छन् ।  

पछिल्लो समयमा भारतबाटै संक्रमित भएर नेपाल फर्कनेहरुको संख्या घट्नुले पनि सुदूरपश्चिममा कोरोना संक्रमितको दर घट्दो रहेको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । उनले भने,‘पछिल्लो एक साता यता भने कोरोना संक्रमितको संख्या घट्दो छ ।’ यस्तै सुदूरपश्चिममा कोरोना संक्रमणपश्चात् मृत्यु हुनेको संख्या पछि घटेको बताउँदै उनले भने,‘कोरोनाका कारण अप्ठ्यारो महसुस कम हुनु र अस्पताल जानेको संख्या घट्नुले पनि मृत्युदर कम भएको तथ्याङ्कले देखाउँछ ।’ 

सोमबार सुदूरपश्चिममा ५ जनाको मृत्यु भएको छ भने दोस्रो भेरियन्टले सुदूरपश्चिममा ४ सय ७० जनाको ज्यान गएको छ ।

कोरोनाले स्वास्थ्य अवस्था नाजुक हुँदा अस्पताल जानेको संख्या बढेको देखिए पनि पछिल्लो समयमा भने होम आइसाेलेसनमै निको हुनेको संख्या बढेकाले पनि मृत्यु दर घटेको देखिएको उनी बताउँछन् । ‘घरमै होम आइसाेलेसनमा सेल्फ केयरबाटै अत्याधिक संक्रमित सञ्चो भइरहेका छन्,’ उनले भने,‘त्यसैले पनि अस्पताल जानेको संख्या घटेको देखिन्छ ।’ अस्पताल जाने भनेकै एकदमै गाह्रो स्थितिमा रहेको बताउँदै उनले भने,‘बिरामीलाई गाह्रो स्थिति हुनै नदिन होम आइसाेलेसनमै सेल्फ केयर बढेको हो, त्यसैले पनि अस्पतालमा बिरामीको संख्या घट्दो छ ।’    

भारतका विभिन्न सहरबाट हिजोआज कञ्चनपुरको गड्डाचौकी र त्रिनगर भन्सार भएर आउनेको संख्या पछिल्ला दिनहरुमा घटिरहेको छ । आइतबार मात्रै भारतबाट ३ सय ३९ जना स्वदेश फर्केका छन् । दैनिक एक हजार बढीको संख्यामा स्वदेश फर्कने नेपालीहरुको संख्या पछिल्लो समयमा घटिरहेको छ । चैत र वैशाख महिनामा अत्याधिक मात्रामा नेपाल फर्कनेको संख्या रहेपनि जेठ महिनाको सुरुवातदेखि भने त्यो संख्या घट्दो क्रममा रहेको छ । 

चालू महिनाको १६ गतेसम्म गड्डाचौकी र गौरीफन्टा नाकाबाट सुदूरपश्चिम फर्कने नेपालीको संख्या १० हजार ३ सय ९६ जना रहेका छन् । वैशाखमा त्यो संख्या बढेको थियो । वैशाखमा दुवै नाकाबाट ४४ हजार १ सय ४ जना सुदूरपश्चिम फर्केका थिए । यस्तै चैतमा भने दुवै नाकाबाट ४६ हजार ६७ जना स्वदेश फर्केको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्याङ्कले देखाएको छ । यो तथ्याङ्कले पनि के देखाउँछ भने चैत र वैशाख महिनामा भारतबाट अत्याधिक मात्रामा नेपाली मजदुरहरु फर्कदा संक्रमण दर बढेको थियो । जेठमा भने स्वदेश फर्कने मजदुरहरुको संख्या घट्दा संक्रमण दर घटेको विश्लेषण स्वास्थ्यकर्मीहरु गर्दछन् ।    

वैशाख यता सुदूरमा ४७० को मृत्यु  

दोस्रो भेरियन्टको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा अहिलेसम्म ४ सय ७० जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीमा २ सय २९ जनाको मृत्यु भएको छ भने दोस्रोमा कञ्चनपुर रहेको छ । कञ्चनपुरमा १ सय ५५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनायो । यस्तै बझाङमा १७, अछाममा १६, बैतडीमा १५, डडेल्धुरा १२, दार्चुला ११, डोटी ८ र बाजुरामा ७ जनाको मृत्यु भएको छ ।

प्रकाशित: १७ जेष्ठ २०७८ १४:०३ सोमबार

सुदूरमा कोरोना कहर