कोभिड–१९ को महामारी फैलिरहेकाबेला खोटाङ सेवा समाज यूकेले खोटाङका लागि ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान थालेको छ । कोभिड–१९ को संक्रमण भएको अवस्थामा अक्सिजनको अभाव हुँदा कतिपय संक्रमितको अकालमा मृत्यु भएको खबर सार्वजनिक भइरहेको बेला खोटाङ सेवा समाज यूकेले ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान थालेको हो । आफ्नो जन्मभूमिमा बसिरहेका नागरिकलाई संक्रमणका कारण अकालमा ज्यान गुमाउनबाट बचाउने लक्ष्यका साथ खोटाङ सेवा समाज यूकेले प्राणघातक रोग कोभिडविरुद्ध प्रवासमै आफ्नो गाँस काटेर अभियान थालेका हुन् ।
कोरोना भाइरसबाट संक्रमित जिल्लावासीको सहयोगार्थ स्वास्थ्य सामग्री पठाउनका लागि हाल यूकेमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन भइरहेको खोटाङ सेवा समाज यूकेका महासचिव भोलाबिक्रम राईले बताए । ‘नेपालमा कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलिँदा अस्पतालहरूमा अक्सिजनको संकट गहिरिँदै गएको, अक्सिजनको संकट गहिरिएपछि अस्पतालले थप बिरामीलाई सेवा दिन नसक्ने अवस्था आएको र अस्पताल भर्ना भएका कतिपय संक्रमितहरूले अक्सिजन नपाएर दिनानुदिन अल्पायुमै जीवन गुमाइरहेको खबरहरु बिभिन्न माध्यमबाट सार्वजनिक भइरहेका छन्,’ महासचिव राईले भने, ‘आफ्नो मातृभूमीमा आइपरेको संकटमा हामी मूकदर्शक बन्नु हुँदैन । यो संकटसँग जुध्न हाम्रो संस्थागत योगदान हुनुपर्छ भन्ने जिम्मेवारी बोध गर्दै बेलायतमा रहेका खोटाङ्गेबिच अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं भन्ने स्लोगन बनाएर आर्थिक सहयोग संकलन अभियान आरम्भ गरेका हौं ।’
खोटाङ सेवा समाज यूकेले जिल्लाका लागि अक्सिजन कन्सन्ट्रेटर तथा कोभिड–१९ बाट बच्न र बचाउनका लागि उपयोगी हुने स्वास्थ्य उपकरण उपलव्ध गराउने तयारी गरेको छ । ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान अन्तरगत २० लाख बराबरको स्वास्थ्य सामग्री जिल्लालाई हस्तान्तरण गर्ने तयारी भइरहेको समाजका विशिष्ट संरक्षक सदस्य एवं संस्थापक रविप्रकाश राईले बताए । यद्यपी, कुन–कुन स्वास्थ्य उपकरण प्रदान गर्ने भन्ने बारेमा अन्तिम संस्थागत निर्णय हुन बाँकी रहेको जनाइएको छ । खोटाङको सामाजिक र मानवीय हितका क्षेत्रमा सहयोग गर्दै आएको खोटाङ सेवा समाज यूकेले २०७३ साल चैत्र २६ गते खोटाङलाई एकैसाथ ७ वटा एम्बूलेन्स हस्तान्तरण गरेको थियो । त्यो भन्दा अघि पनि समाजले जिल्ला अस्पताललाई एक थान अल्ट्रा साउन्ड मेसिन प्रदान गरेको थियो ।
सहयोग अभियानबारे भर्चुअल अन्तरक्रिया
कोभिड–१९ को महामारीका बेला खोटाङका लागि आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराउने विषयमा परामर्श लिनका लागि खोटाङ सेवा समाज यूकेले भर्चुअल माध्यमबाट सर्वपक्षीय अन्तरक्रिया गरेको छ । समाजले खोटाङका राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, प्रशासन, स्वास्थ्य कार्यालय, पत्रकार लगायतको सहभागीतामा शनिबार साँझ भर्चुअल अन्तरक्रिया गरेको हो ।
भर्चुअल अन्तरक्रियामा जिल्लामा कोरोनाको असर, स्थानीय स्तरबाट कोरोना नियन्त्रणमा भइरहेका प्रयास र खोटाङ सेवा समाज यूकेले गर्ने सहयोगको पारदर्शिता र प्रभावकारिताका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागीको सुझाव तथा धारणा आएपछि खोटाङ सेवा समाज यूकेका अध्यक्ष डा. प्रमोद राईले आफ्नो गाँस काटेर दिएको आर्थिक सहयोग पारदर्शी र न्यायोचितढंगले वास्तविक पीडितसम्म पुग्ने बिश्वास लिएको उल्लेख गरेका छन् । डा. राईले आगामी हप्ता/दश दिनभित्र जिल्लालाई स्वास्थ्य उपकरण प्रदान गरिसक्ने बताएका छन् ।
समाजका अध्यक्ष डा. राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ्ग, हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उप–प्रमुख बिणादेवी राई, हलेसी तुवाचुङ नगरपालिका उप–प्रमुख बिमला राई, खोटाङ सेवा समाज यूकेका विशिष्ट संरक्षक सदस्य एवं संस्थापक नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राई, नेकपा (एमाले)का जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशी, नेकपा माओवादी केन्द्रका अध्यक्ष देवान किराती पृथ्वी, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सूर्य राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला अस्पतालका प्रमुख डा.वैभव मल्लिक लगायतको सहभागिता रहेको थियो ।
समाजका महासचिव राईले सञ्चालन गरेको कार्यक्रममा समाजकातर्फबाट उपाध्यक्ष भाग्यवती राई, प्रसाद राई र भविन राई, सह–कोषाध्यक्ष सञ्जिव राई लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित: १७ जेष्ठ २०७८ ११:४४ सोमबार