समाज

गोरखनाथ मन्दिरमा सवालाख रोट चढाइँदै (तस्बिर सहित)

रोट महोत्सवका लागि रोट तयार पारिँदै । तस्बिरः नरहरि/नागरिक

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ मन्दिरमा सवालाख रोट महोत्सव चलिरहेको छ । रोट महोत्सवको सोमबार छैठौं दिन हो । कोभिड–१९ का कारण गत र यस वर्ष रोट महोत्सवको रौनक छैन ।  

‘अहिले भक्तजनलाई आउन दिइएको छैन, परम्परालाई निरन्तरता दिन सवालाख रोट चढाएको छौं’ सिद्धाश्रम शक्ति केन्द्रका केन्द्रीय अध्यक्ष रामजी अर्यालले भने, ‘पहिले रोट बनाउने, पकाउन सघाउने साधक साधिकाले गर्थे । तर अहिले नेपाली सेना र नेपाल प्रहरीले रोट बनाउने, पकाउने गरिरहेका छन् ।’  

सिद्धाश्रम शक्तिकेन्द्रको आयोजनामा हरेक वर्ष चण्डि पूर्णिमाको दिनदेखि ११ दिनसम्म चल्ने रोट महोत्सवको कोरोना प्रभावका कारण रौनक छैन । यस वर्ष नित्य पूजा अन्तर्गत रोट चढाइएको केन्द्रका अध्यक्ष अर्यालले बताए ।  

गतवर्षदेखि कोरोनाको प्रभावले रोट महोत्सव समान्य रुपमा गरिएको दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताए । राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट चढाउँदै आएको छ ।  

गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा भजन, कृतन, पूजापाठ गरेर सयौं भक्तजनको उपस्थितीमा हुने रोट महोत्सव कोरोना प्रभाव र निषेधाज्ञाको असरले केही रौनक छैन । गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने भएकाले रोट चढाएर खुसी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ । गहुँ, जौ र धेरैजसो चामलको पिठो रोट बनाउन प्रयोग गरिन्छ । बिभिन्न ५२ थरीका शक्तिवर्धक मसला मिसाएर रोट बनाईन्छ । 

प्रकाशित: १७ जेष्ठ २०७८ ११:३९ सोमबार

रोट महोत्सव गोरखनाथ मन्दिर