समाज

उदयपुरमा काेराेनाः ७६ थपिँदा १४ संक्रमणमुक्त

त्रियुगामा घट्दै संक्रमण

स्वास्थ्य कार्यालय उदयपुर । तस्विरः महेश्वर

उदयपुरमा आईतबार ३२ महिलासहित ७६ जना काेराेना संक्रमित थपिएका छन् । नयाँसहित हाल जिल्लामा सक्रिय संक्रमतिको संख्या ९ सय १६ पुगेको छ । अघिल्लो दिन ३ सय ४२ महिलासहित उपचाररत ८ सय ५४ जना सक्रिय संक्रमितमध्ये १४ जना निको भएका छन् ।

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आईतबार थपिने नयाँ संक्रमितहरुमा सबभन्दा बढी बेलका नगरपालिकामा १९ महिलासहित २७ जना छन् । कटारीमा ११ महिलासहित २१, चौदण्डीगढीमा ८ महिलासहित १८ र त्रियुगा नगरपालिकामा ६ जना पुरुष संक्रमित थपिएका छन् भने रौतामाई गाउँपालिकामा ३ महिलासहित ४ जना थपिएका छन् ।  

उता ताप्ली गाउँपालिकामा अघिल्लो दिन केही व्यक्तिमा संक्रमण देखिए पनि त्यसको बिबरण स्वास्थ्यको तथ्यांकमा अद्यावधि छैन । ताप्लीमा गाउँपालिकाका चालक, प्रहरी जवान, हवल्दार र सहायक निरीक्षक (असई) मा एन्टीजेन पोजेटिभ देखिएको घट्नास्थलमै रहेका स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताएका छन् । तर, संक्रमितको बिबरण औपचारिक रुपमा गाउँपालिकाले नपठाएका कारण तथ्यांकमा अद्यावधि भएको छैन ।  

यता त्रियुगा नगरपालिकामा पछिल्लो समय संक्रमित घट्दै गएको छ । शनिबार २ महिलासहित ४ जना संक्रमित देखिएको त्रियुगामा आईतबार ६ जना थपिएका छन् । सदरमुकामसमेत भएकाले बिभिन्न ठाउँबाट आउजाउ र चलखेल गतिबिधि बढी हुने हुँदा संक्रमित बढ्नु स्वभाविक मानिएको गाईघाटमा निषेधाज्ञा कडाई गरेसँगै संक्रमित संख्या घट्दै गएको अनुमान गरिएको छ ।  

उता उदयपुरगढी, रौतामाई र लिमचुङबुङमा पनि पहिलाको दाँजोमा संक्रमित देखिएका छैनन् । बिगत ३ दिनयता उदयपुरगढी र लिमचुङबुङमा नयाँ संक्रमित देखिएका छैनन् भने रौतामाईमा आईतबार ५ संक्रमति देखिएका छन् । शनिबार त्यहाँ कुनै संक्रमित देखिएका थिएनन् ।

हाल त्रियुगामा सक्रिय संक्रमितको संख्या १ सय ९७ महिलासहित ४ सय ४२ पुगेको छ । कटारीमा ५१ महिलासहित १ सय १४, चौदण्डीगढीमा ५३ महिलासहित १ सय ७ र बेलका नगरपालिकामा ४६ महिलासहित ९७ छ । गाउँपालिकातर्फ सबभन्दा बढी रौतामाईमा २५ महिलासहित ७२, लिमचुङबुङमा १० महिलासहित ५२ र उदयपुरगढीमा १० महिलासहित ३१ जना सक्रिय संक्रमित उपचाररहत छन् ।  

हालसम्म निको हुने ३ सय ३५ मध्ये त्रियुगाका सबभन्दा बढी ३८ महिलासहित ९७ जना छन् भने मृतक संख्या ७ महिलासहित २० जना पुगेको छ । चौदण्डीगढीमा २५ महिलासहित ५८ जना निको हुँदा १ महिलासहित ४ जनाको ज्यान गएको छ भने कटारीमा ६ महिलासहित १६  जना निको हुँदा १ महिलासहित ३ जनाको ज्यान कोभिडले लुटेको छ । बेलकामा २२ महिलासहित ४१ जना निको भईसक्दा २ पुरुषको मृत्यु भएको छ भने ३ महिलासहित ५ जना निको भएको उदयपुरगढीमा २ महिलाको ज्यान गईसकेको छ । 

लिमचुङबुङमा ४ महिलासहित ८ जना निको हुँदा रौतामाईमा २ महिलासहित ७ जना निको भएका छन् भने ताप्लीमा १ जना संक्रमित निको भएका छन् ।

प्रकाशित: १६ जेष्ठ २०७८ १५:२६ आइतबार

काेराेना संक्रमित