समाज

यसरी काम गर्थ्यौं कम्युनिस्टहरू

संस्मरण

उहिले मेरा पालामा कम्युनिस्ट नेताहरू आफ्ना पार्टीका कार्यकर्ताको निकै नजिक हुन्थे। पार्टी प्रतिबन्धित भएको समयमा म नेपाल कम्युनिस्ट पार्टीको सदस्य भएको थिएँ। हामीले चार–पाँच वर्ष त्यो साँघुरो अवस्थामा पार्टीको काम गर्‍यौँ। त्यो अवधिमा फुकीफुकी पाइला चाल्नुपथ्र्यो। नेताहरू सबै भूमिगत थिएँ तर पार्टी सदस्य र समर्थकलाई प्रायः पोलिटब्युरो सदस्यले पढाउँथे। उच्च नेतासँग समेत भेटघाट र कुराकानी गर्न सहज थियो। 

पोलिटब्युरोमा क. पुष्पलाल, क. मनमोहन अधिकारी, क. कंमर शाह, क. डा. केशरजंग रायमाझी, क. शैलेन्द्रकुमार उपाध्याय थिए। यही प्रतिबन्धित अवस्थामा पोलिटब्युरो सदस्यमा क. तुलसीलाल अमात्य, क. डिपी अधिकारी पनि पोलिटब्युरो सदस्य थिए। को कता गएर हो वा के के भएर हो नेताहरू बदलिन्थे। हामी सदस्य बुझ्दैनथ्यौँ। तर मैले यी सबै नेतासँग पढेको छु।  

यी नेता पार्टीको नीति, सिद्धान्त, दर्शन, रणनीति, कार्यनीति र कार्यक्रमबारे सूक्ष्म तरिकाले पढाउँथे। त्यस अतिरिक्त जग्गाधनी, मोही किसान, पाखुरे मोही (पाखुरे मोही भनेको जग्गाधनीसँग एउटाले जग्गा कमाएको, त्यो जग्गा कमाउने मोहीले अर्को व्यक्तिलाई त्यही जमिन कमाउन दिएको। बीचमा आफूले केही तिरो नाफा लिई जग्गाधनीलाई कुत बुझायो। त्यसो गरेबापत अलिकति नाफा आफूले लियो। बीचमा आफूले केही तिरो नाफा लिई जग्गाधनीलाई कुत बुझायो। त्यसो गरेबापत अलिकति नाफा आफूले लियो। 

तर जग्गाधनीलाई योे कुरा थाहा नहुन पनि सक्थ्यो। पाखुरे मोहीले मोहियानी हक पाउँदैनथ्यो) यस्ता सबै कुरा नेताहरूले सविस्तार पढाउँथे। यसका साथै जमिन अनेक नामका हुन्थे। उदाहरणका लागि बिर्ता, कुश बिर्ता, सुनाबिर्ता, रैकर आदि। दान गरेर पाएको कुश बिर्ता, सुन बेचेर किनेको सुनाबिर्ता। रैकर गुठी : गुठीको तिरो पनि चामल। चामल पनि फलुवा, सरुवा। यस्ता कुरा नेताले हामीलाई नबुझुन्जेल पढाउँथे। जमिनको वर्गीकरण अब्बल, दोयम, सिम, चाहार आदि चार प्रकारका हुन्थे। उब्जनीका आधारमा जमिनको वर्गीकरण गरिने रहेछ। यी सबै कुरा सविस्तार पढाउँथे। यी सबै कुरा नबुझी किसानसँग काम गर्न सकिँदैनथ्यो। बारी जमिन भने दुई किसिमको मात्र हुन्थ्यो।  

धान निफनेर ठूला पाथीले भरेर लिन्थे

पार्टी प्रतिबन्धित भएको हुँदा सम्पूर्ण गतिविधि गोप्य परमगोप्य किसिमले गर्नुपर्ने। हाम्रा क्लास काठमाडौंका धनी किसानहरू, जसको ठूलो घर छ, त्यहीँ हुन्थे। कक्षामा हामी पुगेपछि मात्र नेता आउँथे। नेता आइसकेपछि अरू कसैलाई पनि प्रवेश दिइँदैनथ्यो। कक्षा सकिएपछि नेता फर्कन्थे। त्यसपछि २० मिनेट कसैलाई पनि बाहिर जान दिइँदैनथ्यो। नेता आफ्नो सुरक्षित बस्ने ठाउँ पुगेपछि हामी निस्कन पाउँथ्यौँ। यसरी जोगाउँथे, काठमाडौंका किसानले कम्युनिस्ट नेताहरूलाई। त्यस्ता कक्षा विद्यार्थीका लागि छुट्टै, किसानका लागि छुट्टै चलाइन्थ्यो। त्यस अतिरिक्त कम्युनिस्ट पार्टीको समर्थक भएदेखि नै कम्तीमा दिनको दुई घन्टासम्म कम्युनिस्ट पार्टीका सिद्धान्त, दर्शन, मार्क्सवाद, कम्युनिस्ट घोषणापत्र लगायत नेपालको भूगोल, इतिहास, जात्रामात्रा, चाडपर्वजस्ता संस्कृति पढ्नैपथ्र्यो। बाहिर कसैले कम्युनिस्टको विरोध गर्‍यो भने त्यसको खण्डन गर्दै कम्युनिस्ट सिद्धान्तको प्रतिरक्षा गर्नुपथ्र्यो। शम्भुराम, कृष्णराज वर्मा को को कता कता थिए याद भएन। 

पिबी मल्ल, कमलराज रेग्मी, हिक्मत विस्टसँग यदाकदा मात्र भेट हुन्थ्यो। क. तुलसीलाल अमात्य अखिल नेपाल किसान संघका अध्यक्ष थिए। काठमाडौंका किसानमा नाति दाइ, तननी नाति दाइहरूले नेतृत्व गर्थे। भक्तपुरमा किसानहरूको नेतृत्व विकुलाल भैल, गणेशप्रसाद मानन्धरहरूले गर्थे। भक्तपुर पाटन र काठमाडौंका काँठतिरका मोही किसानको नेतृत्व पद्मबहादुर बुढाथोकीहरूले गर्थे। बिर्ता खारेजी, गुठीको तिरो सरुवा, फलुवा चामल होइन, सरकारी रैकरसरह हुनुपर्छ भन्ने जस्ता माग राखिन्थ्यो।  

कीर्तिपुर, पागा, सुनाकोठी, ठेचो, ठैँब, हरिसिद्धी, खोकना सानागाउँ, प्याङगाउँ जस्ता ठाउँमा किसान आन्दोलन भइरहन्थे। ठिमीका जग्गाधनीले आठ सालतिर दधिकोटका मोही किसानको घरमा संगठित किसिमले हमला गरे। यसका प्रभाव पछिसम्म पनि पर्‍यो। ठिमीका मान्छे दधिकोट जान र दधिकोटका मान्छे ठिमी आउन निकै मुस्किल भयो, तर ठिमीका मानिसको जग्गा दधिकोटमा भएकाले क्रमशः आऊजाऊ हुन थाल्यो। ठिमी, नगदेश, बोडेका बिर्तावालहरूका नाममा जग्गा भएकाले गाउँका किसानले प्रतिवर्ष धान र गहुँ ती ठाउँका बिर्तावालाको घरमा पुर्‍याइदिनुपथ्र्यो। किसानले लगेको धान निफनेर ठूला पाथीले भरेर लिन्थे। त्यसरी बिर्तावाल कहाँ धान गहुँ बोकेर लगेको ज्याला पनि पाइँदैनथ्यो।  

गुरुको प्रेम  

त्यो वेलाको नेपाल कम्युनिस्ट पार्टी फ्रन्टहरूमा पनि विभाजित हुन्थे। ती फ्रन्टलाई विभिन्न नामले व्यवस्थित गरिन्थ्यो। जस्तै, अखिल नेपाल विद्यार्थी फेडरेसन, अखिल नेपाल किसान संघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल मजदुर संघ, अखिल नेपाल युवक संघ आदि। संस्था त किसानको ठूलो थियो, महिलाको ठूलो थियो। तर अरू संघभन्दा विद्यार्थी फ्रन्ट बढी प्रभावकारी थियो। धेरै विद्यार्थीका आमाबाबु वा अरू अभिभावक काठमाडौंमा हुँदैनथे। तसर्थ पनि विद्यार्थीलाई काम लगाउन सजिलो हुन्थ्यो। भारतका त्यतिवेलाका कम्युनिस्ट नेताहरू पढाइमा निकै ध्यान दिन्थे। वार्षिक परीक्षामा पास हुनैपर्छ भन्ने धारणा राख्थे। 

नेताहरू बुर्जुवा शिक्षाको के काम ? भन्ने खालका थिएनन्। तसर्थ विद्यार्थीलाई वार्षिक परीक्षामा सफल हुन परीक्षाभन्दा दुईदेखि तीन महिना अघिदेखि पार्टीको कामबाट छुट्टी दिई परीक्षामा सफल हुन सहयोग गर्दा रहेछन्। पार्टीको दैनिक कामबाट पढाइमा असफल हुन नपरोस् भन्ने दृष्टिकोण रहेछ, ताकि कम्युनिस्टहरू आ–आफ्नो शिक्षा विषयमा पोख्त होऊन, जसले गर्दा अभिभावक पनि पार्टीप्रति सहानुभूति राख्दा रहेछन्। कति अभिभावक त कम्युनिस्ट पार्टीमै प्रवेश गर्दा रहेछन्। त्यो चलन नेपाल कम्युनिस्ट पार्टीले प्रयोग गरेन। 

भारतको पद्धति उच्च लाग्यो। म भने काठमाडौं घण्टाघरनिर तीनधारा पाकशालामा बस्थेँ, खान्थेँ। दुई वर्षसम्म लगातार फेल भएदेखि त्यस विद्यार्थी छात्रावासबाट निकालिन्थ्यो। तसर्थ पहिलो वर्ष मैले पूरै पार्टीमा काम गर्थें, दोस्रो वर्ष दुई–तीन महिना खुब पढ्थेँ र परीक्षा दिई धेरै पढेर थोरै चोरेर जसरी पनि पास हुन्थेँ। चिट लगेर कहिल्यै चोरिनँ। यसरी काम गरियो। कलेजका गुरुहरू खुब पढेर राम्रो प्रतिशत ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई बढी माया गर्थे। मजस्ता दुई वर्षमा एक वर्ष मात्र परीक्षामा उत्तीर्ण हुने विद्यार्थीलाई पनि निकै माया गर्ने, किनभने शिक्षामा सुधार हुनुपर्‍यो, अंग्रेजी फाँटका शिक्षकले पाएसरहको तलबभत्ता र सुविधा संस्कृतका शिक्षकले पनि पाउनुपर्‍यो भनी हामी आन्दोलन गथ्र्यौं। नाटकमा पात्र भई अभिनय गथ्र्यौं। शिक्षामन्त्री लगायतसँग भेट्थ्यौँ। गुरुहरूका सुविधाबारे पनि कराउँथ्यौँ, झगडा गथ्र्यौं। ती प्रतिभाशाली विद्यार्थी अपवादमा बाहेक हाम्रा आन्दोलनमा सहभागी हुँदैनथे। 

वाल्मीकि विद्यापीठ संस्कृत कलेजका प्राध्यापकहरूलाई त्रि–चन्द्र कलेजका प्राध्यापकसरह तलबभत्ता र अन्य सुविधा हुनुपर्छ भनी हामी मुद्दा उठाउँथ्यौँ र अरू अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुन्थ्यौँ। हामीजस्ता विद्यार्थी पनि चाहिने रहेछ। त्यसैले हामी पनि गुरुहरूका प्यारा विद्यार्थी हुने रहेछौँ। संस्कृत शिक्षाको पाठ्यक्रममा भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र पनि समावेश होस् भनी कडा संघर्ष गरियो। अन्ततः हाम्रा माग पूरा भए। गुरुहरूले पनि त्रि–चन्द्र कलेजका प्राध्यापकसरह तनखा र सुविधा पाउन थाले। हाम्रो संघर्षबाट प्रशन्न भए। मेरो काम पार्टीले अर्को एउटा थपिदिएको थियो। त्यो काम थियो– संस्कृतका गुरुहरूलाई पनि सके कम्युनिस्ट पार्टीको समर्थक गराउने, नसके कम्युनिस्ट विरोधी नगराउने। मेरो व्यवहारले गुरुहरू पनि कम्युनिस्टको ठाडो विरोध गर्ने भएनन्। बद्रीनाथ गुरु त माओत्सेतुङलाई भेट्न पाए गोडामै ढोग दिन्छुसम्म भन्न लाग्नुभएको थियो।  

कम्युनिस्ट भएको गौरव र गर्व 

त्यति वेला चारवटा विद्यार्थी संघ थिए। कम्युनिस्ट समर्थक संगठन अखिल नेपाल विद्यार्थी फेडरेसन, नेपाली कांग्रेस पक्षका विद्यार्थीको संस्था नेपाल छात्र संघ। कम्युनिस्ट, कांग्रेस र राजावादीहरू समेत छ्यासमिस विद्यार्थी सम्मिलित विद्यार्थीको संगठन थियो– संस्कृत छात्र संघ। अझ अर्को एउटा विद्यार्थी संगठन थियो, नेपाल स्टुडेन्ट युनियन। यो संस्थालाई लाल कम्युनिस्ट पार्टीसँग आबद्ध भनिन्थ्यो, तर यथार्थ के थियो यकिन भएन। यसरी काम गरियो पार्टीमा र संस्कृत शिक्षालाई माथि उचाल्न सफल भइयो। विद्यार्थी फेडरेसनमा वासुदेवप्रसाद ढुंगाना, अरविन्दनाथ रिमाल, भरतराज जोशी, लक्ष्मीलाल हलुवाई, विश्वप्रधानहरू नेतृत्वमा थिए। अरू विद्यार्थीमा शिवा राणा, प्रचण्ड प्रधान, रामेश्वरप्रसाद प्रधान, मथुराप्रसाद श्रेष्ठ, कुसुम श्रेष्ठ, मगबुल शाह आदि थिए। सूर्यप्रसाद श्रेष्ठ पनि थिए जस्तो लाग्छ। म भने संस्कृत छात्र संघको सचिव थिएँ र अनेविफेको सदस्य मात्र थिएँ। 

नेपाल छात्र संघमा सुरेन्द्रराज शर्मा, वासु रिसाल, पुष्करनाथ, ईश्वरीप्रसाद ल्वाङ, ध्रुवराम भण्डारी लगायत थिए। स्टुडेन्ट युनियनमा विजय प्रशन्न, रामबाबु देवकोटा, रामचन्द्र महर्जन, कालिका भक्त माथेमाहरू थियौँ। संस्कृत छात्र संघमा श्रीप्रसाद गौतम, भुवनेश्वर शर्मा, मदन शर्मा, विजयराज, टंकनाथ पथिक, अम्बिकाभक्त अधिकारी, शुभाकान्त शर्मा, रामकृष्ण पन्त, विश्वनाथ लुइटेलहरू थियौँ। चारै विद्यार्थी संगठनले २००९ सालमा न्यून वैतनिक कर्मचारी संघको आन्दोलनमा पूरा भाग लियौँ। यद्यपि हामी कर्मचारी थिएनौँ, विद्यार्थी थियौँ।  

कर्मचारी संघले सहयोग मागेपछि हामी संघर्षको मैदानमा सशक्त रूपमा उत्रियौँ। सरकारले सुरक्षा कानुन लगायो, हामी विद्यार्थीले ‘कालो कानुन फिर्ता गर’ भन्ने जस्ता नारा लायौँ। भूगोल पार्कमा सुरक्षा कानुन तोड्न आम सभा गर्‍यौँ। सरकार सशक्त दमन गर्न उत्र्यो र व्यापक धरपकड गर्‍यो। प्रहरीले धुस्नु हुने गरी पिट्यो। अन्ततः न्यून वैतनिक कर्मचारी संघको आन्दोलन सफल भयो। तलब बढ्यो। कम्युनिस्ट पार्टी यस्ता कुरामा सचेत थियो। जनताले उठाएका प्रायः संघर्षमा सक्रिय भाग लिन्थ्यो।

प्रकाशित: १५ जेष्ठ २०७८ ०३:२५ शनिबार

अक्षर संस्मरण यसरी काम गर्थ्यौं कम्युनिस्टहरू