समाज

सेना परिचालन गरिएको सुनसरीमा जेठ २२ सम्म निषेधाज्ञा

कोभिड-१९ संक्रमण रोकथामका लागि सेना परिचालन गरेर कडाई गदै आएको जिल्ला प्रशासन कार्यालय सुनसरीले थप एक साताको लागि निषेधाज्ञा लम्ब्याएको छ।

निषेधाज्ञा लम्ब्याएसँगै जेठ १६ गतेदेखि पूरै कडाईं गर्ने पनि निर्णय गरेको छ।  

शुक्रबार बसेको डिसीसीएमसी बैठकले जेठ २२ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ। निषेधाज्ञा उल्लंघन गर्नेलाईं जरिवाना र सजायमा पूरै कडाई गरिने भएको छ। सुनसरीमा जेठ १५ गतेसम्म निषेधाज्ञा कायम गरी अत्यावश्यकबाहेक अन्य गतिविधिमा रोक लगाइएको थियो। जेठ १ गतेदेखि कडाई गर्नका लागि सेनासमेत परिचालन गरिएको थियो।  

कोरोना संक्रमितको मृत्यु र संक्रमित हुनेको संख्या बढिरहँदा नियन्त्रण गर्न निषेधाज्ञा लम्ब्याएर कडाई गर्ने निर्णय गरिएको प्रशासन कार्यालयद्वारा जारी सकुर्लरमा उल्लेख छ। यहाँ जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिबाहेक स्थानीय सरकारले पनि कोरोना संक्रमित र मृत्युको अवस्थाअनुसार कतिपय वडा सिलसँगै पूरै कडाई पनि गरेका छन्। जिल्लामा चौथोपटक निषेधाज्ञाको समय थप गरेर सशक्त कडाई गर्ने निर्णय गरिएको हो।

प्रकाशित: १४ जेष्ठ २०७८ १३:४३ शुक्रबार

सेना परिचालन जिल्ला प्रशासन कार्यालय