समाज

कोरोना जित्दै, घर फर्किंदै जुम्लावासी

एकसाता अघि सम्म जुम्लाको कनकासुन्दरी गाउँपालिकामा ३० जना संक्रमित भेटिए। एकै पटक यति धेरै संक्रमित देखिएपछि गाउँमा त्रास फैलियो। कोरोना संक्रमितलाई हेर्ने नजर नकरात्मक थियो। गाउँपालिका भरी ३ सय जनामा परीक्षण गर्दा ३० जना संक्रमित भेटिए। गाउँपालिकाले संक्रमित सबैलाई संस्थागत आइसोलेसनमा ल्यायो।  

उनीहरु १० दिन सम्म आइसोलेसनमा बसेपछि निको भएर घर फर्किए। संक्रमितमा कुनै लक्षण थिएन, कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य सह संयोजक नेत्रराज खत्रीले भने,‘एकैपटक ठूलो संख्यामा कोरोना फैलिँदा त्रास फैलिएको थियो। सबै संक्रमित निको भएर घर फर्कदा खुसियाली छायो।’ स्वास्थ्यकर्मीले संक्रमितलाई फूलमाला लगाएर घर फर्काए।  

अहिले शंकास्पद बिरामीको एन्टिजेन परीक्षण भईरहेकोछ । पछिल्लो समयमा परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आउने गरेको उनले बताए। सह संयोजक खत्रीले गाउँपालिका भर पाँचवटा स्वास्थ्यचौकी,पाँच वटा क्लिनिक र स्वास्थ्य शाखामा कोरोना संक्रमण फैलन नदिनको लागि अहोरात्र खटिएको बताए। उनले भने,‘संक्रमित आइसोलेसनमा सहजै रुपमा आए। उनीहरुको खानपान औषधि उपचार निकै राम्रो सित भयो। अहिले दोस्रो चरणको कोभिड खोप लगाईरहेको छन्।'

यहाँको पातारासी गाउँपालिकामा ३७ जना संक्रमित भएकोमा ६ जना आइसोलेसनमा छन्। बाँकी सबै संक्रमित निको भएर घर फर्किसकेका छन्। ६ जना डोलकाटिया स्थित आइसोलेसनमा बसेका छन्। संक्रमित आइसोलेसनमा बस्न नमान्दा निकै ठूलो संघर्ष गर्नु पर्यो, स्वास्थ्य संयोजक रतन बुढ्थापाले भने,‘अन्तिम बल लगाएर भएपनि आइसोलेसनमा संक्रमित राखेका छौँ। चिकित्सक तथा स्वास्थ्यकर्मीको उच्च निगरानीमा छन्।  

संक्रमितको उपचारमा पब्लिक हेल्थ अफिसर एक जना, स्टाफनर्स २ जना र एक जना चिकित्सक छन्। उनीहरु संग कुनै लक्षण छैन। हिमा गाउँपालिकामा ११ जना सक्रिय संक्रमित छन्। सबै होमआइसोलेसनमा छन्। अधिकांस निको भईसकेका छन्। केही संक्रमित मात्र भएपनि कुनै लक्षण देखिएको छैन। स्वास्थ्य संयोजक रतन रावतले कोरोना संक्रमण फैलन नदिनको लागि सचेतना संगसंगै स्वास्थ्य परामर्श दिने कार्य चलिरहेको बताए।

तातोपानी गाउँपालिकामा १९ जनामा ९ जना निको भईसकेका छन्। १० जना होमआइसोलेसनमा छन्। उनीहरु पनि निको हुने क्रममा छन्। चन्दननाथ नगरपालिकामा ९६ जना निको भईसकेका छन्। १४ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेकोछ ।१९ जना होम आइसोलेसनमा बसेका छन्।  

सिँजा गाउँपालिकामा आईसोेलेसन बनेको छैन। कोभिड अस्पतालमा संक्रमित भर्ना भएका छैनन्।

तिला गाउँपालिकामा २९ जना संक्रमित भएकोमा ११ जना संक्रमित होमआइसोलेसनमा छन्। गुठिचौर गाउँपालिकामा ५ जना संक्रमित भएकोमा ३ जना मात्र आइसोलेसनमा छन्। दुई जना निको भएर घर फर्किसकेका छन्।  

जुम्लाका स्थानीय तहमा समग्रमा संक्रमित भन्दा पनि निको हुनेको संख्या बढि नै छ। स्थानीयतहमा न्यूनतम ३० देखि ५० बेड सम्मका आइसोलेसन बनेका छन्। हरेक स्थानीय तहमा चिकित्सक र अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा छन्। गुठिचौर गाउँपालिकाका अध्यक्ष हरीबहादुर भण्डारीले संक्रमितको संख्या बढ्न सक्ने भन्दै पुर्वतयारीमा जुटेको बताउँछन्।  

उनले भने,‘सबै स्थानीय तहमा कोरोना संक्रमण हुन नदिनको लागि राम्रै तयारी भईराखेको छ। सचेतनाका क्रियाकलाप भईराखेका छन्।' संक्रमित हुने भन्दा पनि निको हुनेको संख्या बढ्दो छ। जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाको टोली स्थानीयतहले बोलाएको ठाउँमै पुगेर पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने र एन्टिजेन परीक्षण गरेर रिपोर्ट निकाल्ने कार्यमा खटिएको छ।  

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा पछिल्लो समयमा एन्टिजेन परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आउने गरेको बताए। उनले भने,‘जुम्लामा कोरोना संक्रमण स्थिती निकै कम देखिएको छ। स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरेको खण्डमा अझै घट्न सक्ने देखिन्छ। ’ जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा हरेक स्थानीय तहमा पुगेर स्वास्थ्यकर्मीलाई उर्जा दिने कार्यमा अग्रसर छन्। उनी जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको टोलीसहित गाउँमा पुगे स्वास्थ्यकर्मीलाई हौसला दिने, कोभिड अस्पताल र आइसोलेसनको अनुगमनमा जुटेका छन्।  

प्रमुख जिल्ला अधिकारी थापाले भने,‘कोरोना संक्रमण फैलन नदिनको लागि हरेक स्थानीय तहमा पुगेर सचेत बनाउने काम भईरहेको छ। संक्रमण रोक्न स्वास्थ्यकर्मीको हौसला बढेको छ। संक्रमित प्रति हेर्ने दृष्टिकोण निकै सकरात्मक छ। लकडाउनको पुर्ण पालनाले मात्रै कोरोना संक्रमण दर घटाउन सकिने अवस्था छ। ’

जुम्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका कार्यहरु तीव्र रुपमा भईरहेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक अनुसार जुम्लामा ३ सय ७५ जना संक्रमित छन्। जसमध्ये  १ सय ४३ जना निको भएर घर फर्किएका छन्। २८ जना संक्रमितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईराखेको छ।

प्रकाशित: १३ जेष्ठ २०७८ १०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App