समाज

कीर्तिपुरमा बृहत् नागरिक आन्दोलन

बृहत् नागरिक आन्दोलनले निषेधाज्ञाबीच कीर्तिपुरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। गत वर्ष कोरोना भाइरस महामारीको अवस्थामा भोकका कारण मरेका सूर्यबहादुर तामाङको सम्झनामा बुधबार बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूले कीर्तिपुरमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूले कोरोना भाइरस महामारीले नागरिक स्वास्थ्य सेवाको अभावमा मरिरहेको अवस्थामा संसद विघटन गरेर चुनाव घोषणा गरेको विरोध गरेका थिए। सो क्रममा लोकगायक अञ्जान बाबुले प्रस्तुति राखेका थिए।

प्रदर्शनमा लेखक/पत्रकार नारायण वाग्लेदेखि लेखक युग पाठकसम्मका अभियन्ताहरूले चुनावभन्दा कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथाममा ध्यान दिन सरकालाई आग्रह गरेका थिए। उनीहरूले ‘स्वास्थ्य सेवा निःशुल्क गर, अस्पतालहरू राष्ट्रियकरण गर’, ‘मान्छेको लाशमाथि लाश छ तिमीलाई भोटकै आस छ,’ ‘अक्सिजन र खोप चाहिएको छ, मतपत्रको षड्यन्त्र होइन’ र ‘रोकिन्नौं हामी रोकिन्नौं चाहे बन्दुक दे या तोप दे, भोट नमाग ए सरकार खोप दे, हामीलाई खोप दे,’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद् विघटन गरेर चुनावको घोषणा गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

प्रकाशित: १३ जेष्ठ २०७८ ०२:४७ बिहीबार

कीर्तिपुरमा बृहत् नागरिक आन्दोलन