समाज

लुम्बिनी गुरुयोजनाको काम छिट्टै पूरा हुने

दुई वर्ष भयो लुम्बिनी सुनसान भएको। कोरोना कहरकै कारण बुधबार २५६५ औं बुद्ध जयन्ती पनि सीमित उपस्थितीका बीच महामारी अन्त्यको कामना गर्दै बुद्ध पुजा तथा प्रार्थना गरी मनाइएको छ।  

विगतका वर्षहरुमा धुमधामका साथ मनाइने बुद्धजयन्ती कोरोना महामारीकै कारण यस बर्ष पनि थोरैको उपस्थितिमा महामारी अन्त्यको कामना गर्दै मनाइएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बताए। कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेपाली काँग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक फकरुद्दिन खाँन, लुम्बिनी विकास कोषका उपाध्यक्ष, सदस्य सचिवसहित सीमित सरकारी अधिकारी सहभागी थिए।

मायादेवी मन्दिर परिसरमा बिहान ७ बजेदेखि ८ बजेसम्म बुद्धपुजा तथा परित्राण पाठ गरिएको सो कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पोखरेलले दिप प्रज्वलन गरी बुद्धपुजाको आरम्भ गरेका थिए। लुम्बिनीका बिहार र गुम्बाहरुमा रहेका महायानी, बज्रयानी, थेरवादीलगायत ७ वटै बौद्ध सम्प्रदायका भिक्षु तथा लामाहरुले परित्राण पाठ गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री केपीशर्मा ओली र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पठाएको शुभकामना सन्देश प्रस्तुत गरीएको थियो। सो क्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनी गुरुयोजनाको काम छिट्टै पूरा हुने बताए। लुम्बिनीमा निर्माणाधीन सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले अर्को बर्षको बुद्धजयन्ती सोही सभाहलमा गरिने पनि उल्लेख गरे। कार्यक्रमपछि लुम्बिनी परिसरमा २ हजार ५ सय फलफुलका बिरुवाहरु रोपिएको थियो।

प्रकाशित: १२ जेष्ठ २०७८ ११:३८ बुधबार

लुम्बिनी बुद्ध जयन्ती