समाज

एम्बुलेन्समा एक सय किलो गाँजा !

एम्बुलेन्सको काम बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो। सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अवैध लागू पदार्थ गाँजा बोक्यो भन्दा !

इलाका प्रहरी कार्यालय धरानले गए राति एम्बुलेन्समा १ सय किलो गाँजासहित दुईजनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो। भेडेटारबाट धरानतर्फ आइरहेको  हुडेप नेपाल लेखिएको  को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको  प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।  

उनले भने, “एम्बुलेन्सलाई शंका लागेर जाँच गर्दा पछाडी भागमा २५ केजीका चार झोलामा १ सय किलो गाँजा फेला पर्‍यो ।” एम्बुलेन्स चालक धरान उपमहानगरपालिका –१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा सहिदभूमी गाउँपालिका १ घर भई हाल धरान उपमहानगरपालिका–११ बस्नेत २८ वर्षीय पोषण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

जिल्ला अदालतबाट आज लागूऔषध मुद्दामा उनीहरुलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीले अभियुक्तले अवैध सो लागूपदार्थ धनकुटाबाट भारतमा बेच्न लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान जारी रहेको  जनाएको छ । 

प्रकाशित: ११ जेष्ठ २०७८ १३:२४ मंगलबार

गाँजा एम्बुलेन्स