समाज

बारपाकमा थप दुईको मृत्यु, एक सातामा ६ जनाले ज्यान गुमाए

गोरखाको बारपाक

गोरखाको बारपाकमा आज दुई जनाको मृत्यु भएको छ। कोरोना संक्रमित एक जना ७० वर्षका पुरुषको उपचारको क्रममा चितनवमा निधन भएको हो। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका अन्दाजी ८० वर्षका पुरुषको पनि मृत्यु भएको छ।  

आज मृत्यु भएका दुई जनासहित बारपाकमा एक साताभित्र मृत्यु हुनेको संख्या छ पुगेको छ। तीमध्ये तीन जनामा कोरोना पुष्टि भएको थियो। अन्यलाई भने कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको तर चेकजाँच नभएको स्थानीय गौतम गुरुङले बताए।  

बारपाकमा कोरोना संक्रमणदर बढ्दो छ। दुईजना सिकिस्त बिरामीलाई सोमबार राती उपचार गर्न गोरखा अस्पताल ल्याइएको छ। यसअघि एक शिक्षिका र भैरहवाबाट पेन्सन बुझेर फर्किएका व्यक्तिको मृत्यु भएको थियो भने दलित बस्तीका एक पुरुषको मृत्यु भएको थियो। दलित बस्तीका पुरुषलाई कोरोना पोजेटिभ देखिएको थियो भने अन्य दुईको पनि लक्षण मिल्दोजुल्दो थियो।

बारपाकमा रुघाखोकी र कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी धेरै रहेको गुनासो आएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले पीसीआर परीक्षणका लागि स्वाब पठाएको थियो। जेठ १ गते पठाएको स्वाबको रिपोर्ट अझै नआएको स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताए। बारपाकमा लक्षण धेरैलाई देखिएपनि परीक्षण गर्न भने स्थानीयले चासो दिएका छैनन्। मृत्यु भएका अधिकांश वृद्ध/वृद्धा रहेकाले दमको समस्या भएकाहरु रहेको वडा नम्बर २ का अध्यक्ष लालबहादुर गुरुङ बताउँछन्।

प्रकाशित: ११ जेष्ठ २०७८ ०८:२३ मंगलबार

गोरखाको बारपाक