समाज

रसुवाको नौकुण्ड गाउँपालिकामा एक वडाबाट अर्को वडामा जान रोक

रसुवाको नौकुण्ड गाउँपालिकामा एक वडाबाट अर्को वडामा आवतजावत गर्न नपाइने भएको छ। सोमबार भर्चुअल माध्यमबाट बसेको कार्यपालिकाको आपतकालीन बैठकले जोखिम रहँदासम्म एक वडाबाट अर्को वडामा जान नपाउने निर्णय गरेको हो। कोभिड–१९ को जोखिम क्षेत्र भएकाले केही समयका लागि आवतजावतमा रोक लगाइएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले बताइन्। गाउँपालिकामा सोमबार एकैदिन ३८ जनामा कोरोना पुष्टि भएपछि उक्त निर्णय गरिएको हो।  

बैठकले कोरोना पुष्टि भएकाहरूलाई आत्मानुशासन र मनोबल बढाउने गरी होम आइसोलेसन किट उपलब्ध गराउने तथा दैनिक सम्पर्क गरेर स्वास्थ्य अवस्था बुझ्ने, एन्टिजेन परीक्षण तथा आरटि–पिसिआरको दायरा बढाउने, गाउँपालिकामा रहेको क्वारेन्टिनलाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ।  

यसैगरी फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा कर्मचारीलाई थप हौसला प्रदान गर्ने, गाउँगाउँमा जनचेतना जगाउन जनप्रतिनिधि तथा शिक्षकहरूलाई परिचालन गर्नुका साथै स्थानीय प्रहरी प्रशासन पनि खटाउने निर्णय गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले गाउँपालिकालाई आवश्यक अक्सिजन सिलिन्डर दिने बताएका गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १० जेष्ठ २०७८ १४:४९ सोमबार

रसुवाको नौकुण्ड गाउँपालिका