समाज

ताप्लेजुङमा कोरोनाको दोस्रो लहरः परीक्षण गरिएकामध्ये साढे २७ प्रतिशतको रिपोर्ट पोजेटिभ

कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङमा पिसिआर तथा एन्टिजेनबाट परीक्षण गरिएका मध्ये करिव साढे २७ प्रतिशतको रिपोर्ट पोजेटिभ आएको छ। सोमवार अपरान्ह सम्ममा कूल २ हजार २१ जनाको स्वाब संकलन गरिएको छ। यो ताप्लेजुङको कूल जनसंख्याको करिव १.६० प्रतिशत हो। स्वाब तथा एन्टिजेन परीक्षण गरिएका २ हजार २१ मध्ये ४ सय ४८ जना पिसिआर र १ सय ४ जना एन्टिजेन परीक्षणको क्रममा पोजेटिभ देखिएका छन्। जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार सोमवार सम्ममा १ हजार ५ सय ९५ जनाको स्वाब संकलन गरिएको छ। 

सोमवार नगरपालिकाले १ सय ५१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउने तयारी गरेको फुङ्लिङ नगरपालिकाका स्वास्थ्य संयोजक मञ्जु गुरुङले जानकारी दिइन्। यो मध्ये १ सय १ जना यसअघि संक्रमित भइ कम्तिमा १४ दिन आइसोलेसनमा बसेकाहरुको फलोअप र ५० जना नयाँ रहेको समेत गुरुङले बताइन्। स्वाब संकलन पछि रिपोर्ट आएका १ हजार ४ सय ४४ जना मध्ये २ सय ५५ पुरुष र १ सय ९३ महिला गरी ४ सय ४८ जनालाई संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टी भएका मध्ये ३ सय ७३ जना अझै पनि सक्रिय संक्रमित छन्। 

सक्रिय संक्रमित भएका मध्ये २ सय १८ पुरुष र १ सय ५५ महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। त्यस्तै जिल्लाभरी २ सय ८१ पुरुष र १ सय ४५ महिला गरी ४ सय २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४ जनालाई पोजेटिभ देखिएको छ। पोजेटिभ हुनेमा ६६ पुरुष र ३८ महिला रहेका छन्। एन्टिजेनबाट पोजेटिभ भएकाहरुमध्ये ६१ पुरुष र ३१ महिला गरी ९२ जना सक्रिय संक्रमित रहेका छन्। ७ एन्टिजेनसहित ८६ जना कोरोना संक्रमणमुक्त भएको समेत जनस्वास्थ्य अधिकृत खरेलले बताइन्। 

यस्तै जिल्लामा ६ महिला सहित ९ जनाले ज्यान समेत गुमाई सकेका छन् भने कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका तर पुष्टि नभएका २ जनाको पनि निधन भएको छ। जिल्लामा सबैभन्दा बढी संक्रमित फुङलिङ नगरपालिकामा रहेका छन्। नगरपालिकाभित्र २० एन्टिजेनसहित ३ सय ८३ जनालाई पुष्टि हुँदा हाल २ सय ९१ जना सक्रिय संक्रमित रहेका छन्। मेरिङदेन गाउँपालिकामा २ एन्टिजेन सहित २९ जनाको परीक्षण गर्दा हालसम्म कसैले पनि कोरोनालाई जितेका छैनन्। 

आठराई त्रिवेणीमा ५ पिसिआर सहित २२ जना संक्रमित रहेका छन्। मैवाखोला पनि ५ पिसिआर सहित १३ जना, मिक्वाखोलामा १६ जना, पाथीभरा याङवरकमा ५ एन्टिेजन सहित १६ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै सिरीजङ्घा गाउँपालिकामा २ एन्टिजेन सहित १७ जना, फक्ताङलुङमा एन्टिजेनका ५ जना र सिदिङवामा पिसिआरका ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

यस्तै ताप्लेजुङमा जिल्ला अस्पताल ७९ पुरुष र ४२ महिला गरी १ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनालाई पोजेटिभ देखिएको छ। ति मध्ये ३२ पुरुष र २० महिला गरी ५२ जना एन्टिजेनका सक्रिय संक्रमित रहेको जिल्ला अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर भरत खत्रीले जानकारी दिए। यस्तै मध्य तमोर जलबिद्युत परियोजनाको स्वाब संकलन गरी पठाइएको १ सय ३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका कोभिड–१९ फोकल पर्सन हेमराज कठायतले जानकारी दिए।

प्रकाशित: १० जेष्ठ २०७८ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App