समाज

कोरोना जितेकाहरूको गलामा फूलमाला

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संस्थागत आइसोलेसनमा बसी निको भएका सङ्क्रमितलाई फूलमाला लगाएर घर फर्काएको छ। 

हाडसिंजा स्वास्थ्य चौकीको आइसोलेसनमा रहेका १९ जना सङ्क्रमित निको भएपछि फूलमाला र अविर लगाइदिएर घर फर्काएको हो। आइसोलेसनमा जाँदा निकै निराश र भारी मन लिएर गएका सङ्क्रमित निको भएर फर्किदा निकै उत्साही थिए। हरेकका गलामा फूलमाला लाइदिँदा निको भएर फर्किएका उनीहरू निकै खुसी हुँदै घर फर्किएका थिए।  

स्वास्थ्यचौकीले निको भएका सङ्क्रमित सबैलाई फूलमाला लगाइदिसकेपछि उनीहरूले भने,‘कोरोना लागेको थाहा पाउँदा जति दुःखी थियौं । निको भएर घर फर्किन पाउँदा उति नै खुसी छौं।’

ग्लामा फूलमाला र अविरको टिका लगाएर घर फर्कदा सङ्क्रमित निकै खुसी थिए। हाँडसिंजा स्वास्थ्यचौकीका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्याय एकैपटक १९ जनाले कोरोना जित्नु सामान्य नभएको बताउँछन्। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको टोली पुगेर सङ्क्रमितलाई एन्टिजेन परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको थियो ।

इन्चार्ज उपाध्यायले भने, ‘घर पठाएकालाई अझै पनि घरमा १ साता होम आइसोलेसन बस्न सुझाएका छौं । उनीहरूको मनोबल उच्च बनाउन हौसलास्वरूप फूलमाला लगाइदिएका हौं । यो कार्यले उनीहरूमा उत्साह मिलेको छ।’

सङ्क्रमितसहित उनीहरूको घरपरिवार, छरछिमेकमा सम्पर्कमा रहेका ८६ जनालाई कन्ट्याक ट्रेसिङ एन्टिजेन परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो। सङ्क्रमित उच्च मनोबलका साथ अघि बढेक कोरोना सहजै रूपमा जित्न सकिन्छ भन्ने उदाहरण भएको बताए ।

कनकासुन्दरीभित्र विभिन्न बस्तीमा अब ११ जना सङ्क्रमित होम आइसोलेसनमा छन् । उनीहरू सबै स्वास्थ्यकर्मीको उच्च निगरानीमा छन्। सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेकाले निको हुने उनले बताए।  

कनकासुन्दरी गाउँपालिकाले कोटघर स्वास्थ्य चौकीमा २५ बेड र हाँडसिंजा स्वास्थ्यचौकीमा २५ बेड गरी ५० बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको थियो। सँगै ५ बेडको कोभिड अस्पताल पनि सञ्चालनमा छ।

प्रकाशित: ८ जेष्ठ २०७८ ११:०० शनिबार

‘कोरोना आइसोलेसन