समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभञ्ज्याङमा निर्माणाधिन पेनटावरबाट मिक्चर बोकेर मध्यपहाडी लोकमार्गतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर नेर्पाकै गुम्बाडाँडामा पल्टिँदा ट्याक्टरमा सवार रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २५ वर्षीय नेत्रबहादुर गुरुङको मृत्यु भएको हो।  

बिहीबार सडकबाट पल्टिएको ट्याक्टर करिब ३० मिटर तल खस्दा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताए। दुर्घट्नामा डुम्रेधारापानी निवासी ट्याक्टर चालक २१ वर्षीय सुशिल श्रेष्ठ गम्भीर घाइते र २९ वर्षीय धनबहादुर सुनुवार मध्यम घाइते भएका छन्। घाइतेलाई जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पछि काठमाडौं रेफर गरिएको छ। घट्नास्थल मुचुल्काको काम पुरा गरेर शव जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।  

यस्तै, आगलागी हुँदा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका कुलबहाखुर खत्रीको पाँच लाखभन्दा बढीको धनमाल क्षति भएको छ। बिहीबार बिहान चुल्होबाट सल्किएको आगोले दुई तले घर जल्दा ५ लाख २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगालीमा घर, घरभित्र राखिएको काठपात, भाँडावर्तन, लत्ताकपडा, अन्नपात लगायत जलेर नष्ट भएको छ।

प्रकाशित: ६ जेष्ठ २०७८ ०९:०५ बिहीबार

ट्याक्टर दुर्घटना