समाज

महाव्याधिमा मनकारीः कोरोना संक्रमितको व्यवस्थापनमा समर्पित युवाहरू

युवालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजान एम्बुलेन्समा राख्न लैजाँदै राकेशविक्रम साहसहितका युवाहरु। तस्बिर सौजन्यः सामाजिक संजाल, उपचारको क्रममा मृत्युवरण गरेका साेही युवाको दाहसंस्कार गर्दै युवाहरु। तस्बिर सौजन्यःमोहन रौनियार

जनकपुरधाम महानगरपालिका–११ का ३८ वर्षीय युवालाई रुघाखोकी ज्वरोले च्याप्यो। आरटि पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आयो। चिकित्सकको सल्लाहमा घरमै औषधि खाँदै बसेका उनी सोमबार घरमै लडे। वृद्ध आमाबुबा अतालिएर जनकपुर स्थित कोभिड क्विक रेसपोन्स टिमका राकेश विक्रम साहलाई गुहारे। साहसहितको टिम एम्बुलेन्स लिएर उनको घरमै पुगे। संक्रमित छोरालाई बोकेर एम्बुलेन्समा राख्न नसक्ने बिवस्ता आमाबुबाले दर्शाएपछि साहसहितका युवाहरु बोकेर एम्बुलेन्समा राखेर प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याए।

जनकपुर स्थित प्रादेशिक अस्पतालमा उपचारकै क्रममा युवाको मृत्यु भयो। मृतकको शव हटाउन अस्पताल प्रशासनले मृतक परिवारलाई ताकेदा गर्यो। मृतक परिवारमा वृद्ध दम्पतीबाहेक कोहि छैनन्। उनीहरु फेरि जनकपुरकै मोहन रौनियारसहितको युवा समूहलाई शव व्यवस्थापनका लागि गुहारे। उनीहरु तत्काल प्रादेशिक अस्पताल पुगेर शवलाई प्लाष्टिकको ब्यागमा राखेर बाहिर ल्याइदिन अस्पताललाई आग्रह गर्यो। तर, अस्पतालले शव आफैं लिएर जानुपर्ने बताए। यी युवाहरुसँग शव व्यवस्थापनको पूर्व अनुभव थिएन। तर, जानकारी जरुर थियो। 

मोहनले तत्काल जनकपुरधामका प्रमुख लालकिशोर साहसँग पिपिइ सेटका लागि आग्रह गरे। प्रमुख साहले पाँच थान पिपिइ सेट तत्काल उपलब्ध गराइदियो। शव सुरक्षित राख्ने ब्यागमा शव राखेर व्यवस्थापन गर्ने इच्छाशतिm त थियो रौनियारले नागरिकसँग फोनमा भने,‘पहिलो अनुभव भएकाले अलिक हिचकिचाहट त मनमा थियो। तर आत्मबलका साम्मुने अरुथोक फिका पर्यो।’

शव वाहनमा राखेर मृतकको शव जनकपुरधामकै मसानघाटमा पुर्‍याएर सबै सुरक्षा मापदण्ड पूरा गरिसकेपछि मृतकका बुबाले छोरालाई मुखाग्नी दिएको रौनियारले बताए। त्यो पल अत्यन्त भाभुक थियो। जसोतसो हामी आफूलाई सम्हाल्न सकेका थियौं, उनले भने। ‘यस्तो दिन कसैले पनि देख्न नपरोस् ! रौनियारको आवाज भारी भयो,‘कोरोनाले खोसेको परिवारको सदस्यलाई त हामीले फर्काउन नसकेपनि दुःखमा साथ उभिन त सक्छौं।’

एकअर्कासँग नजिक बसेको सामाज कोरोना महाव्याधिको आगमनपछि टाँढिन थालेको छ। एकअर्काबीच भावनात्मक सम्बन्धमा दूरी बढेको छ। मिलिजुली बसेको समाजको प्रवृत्ति कोरोनाले फेरिदिएको छ। भौतिक मात्र नभई भावनात्मक दूरी बढाइएको छ। संक्रमितप्रति सद्भाव राख्नुपर्नेमा उल्टै दुर्व्यवहार गर्ने प्रवृत्ति बढ्दो छ।  

तर, यसैबीच राकेश र मोहन जस्ता युवाहरुको संक्रमितप्रतिको समर्पण मधेसमा मात्र देशकैलागि अनुकरणीय रहेको सामाजिक अभियन्ता राजकुमार महतो बताउँछन्। महाव्याधिमा पीडितसँग भावनात्मक दूरी होइन नजदिकी बढाउनुपर्छ, सहयोग गर्नुपर्छ, उनले भने।

महाव्याधिका बेला व्यक्तिले गर्ने व्यवहार पनि फरक हुने बताउँछन्। ‘सामाजिक दूरी कायम गरौं भन्ने सन्देश नै अनौठो छ लहानका प्राध्यापक चक्रपाणि दहाल भन्छन्,‘ सामाजिक दूरी कायम गर्ने सन्देशले समाजीक दूरी नै बढाइदियो।’ उनी भन्छन्, ‘एकअर्काको सहयोगमा मरिमेट्ने समाजका मानिस अहिले तर्केर भाग्न थालेका छन। सामाजमा फरक व्यवहार देखिन थालेको छ।’  

कोरोना संक्रमण कसरी हुन्छ ? एकअर्कामा कसरी सर्छ ? यसबारे सहि सूचना समाजमा फिँजिएको छैन। जसकारण सामाजमा अन्योल छ। स्थानीय तहहरुले करोडौं रकम कोरोना संक्रमण नियन्त्रणमा खर्चे पनि पर्याप्त जनचेतना समाजको पिँधसम्म पुगेकै पाइँदैन।  

सिरहाका सामाजसेवी नविनकुमार यादव भन्छन्, ‘सर्वसाधारणले सजिलो गरी बुझ्ने हिसाबले जनचेतना फैलाउन सकिएन कि जस्तो लाग्छ। त्यसैले पनि जनमानसमा त्रास बढेको छ, सचेतना बढ्न सकेको छैन।’ समाजसेवाका लागि धन होइन मन हुनुपर्छ। यस समाजमा मन हुने मनकारीहरु थोरै भएपनि छन उनले भने, जसका कारण मानवता बाचिरहेको छ।’

अभियन्ता राजकुमार महतो भन्छन्,‘अफ्नो ज्यानको परवाह नगरी संक्रमितको उपचारदेखि मृत्यु संस्कारसम्मको कार्य गर्ने युवाहरुलाई सलाम छ।’

प्रकाशित: ५ जेष्ठ २०७८ ०२:४७ बुधबार

कोरोना पोजेटिभ महाव्याधिमा मनकारी