समाज

नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ।

कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिण्डरको चरम अभाव भैरहेको बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो। शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिण्डर परीक्षणको शुरु गरेका थिए।

अब नेपालले प्रेसर धान्न सक्ने सिलिण्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ। नाष्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिण्डर तयार भएको जानकारी दिए। ‘सुरक्षाको अन्तिम उपाय अबलम्बन गर्न बाँकी छ, केही दिनमा सिलिण्डर उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यावयायिक उत्पादन गर्न अनुमति दिनेछौं,’ उनले भने।  

उनका अनुसार नेपालमा पाइने सिलिण्डरको न्यूनतम मूल्य करिब १५ हजार रुपैयाँ पर्नेछ भने नाष्टको प्रविधि प्रयोग भएको सिलिण्डरको करिब १० हजार रुपैयाँभन्दा कम मूल्य पर्नेछ। सफल परीक्षण भएको सिलिण्डर वैज्ञानिक शंकर ढकालको समूहले तयार गरेको हो।  

सो ग्यास सिलिण्डरमा ग्यासको दबाब २२५ बारसम्म भए सुरक्षित रहन्छ। परीक्षण गर्दा ग्यासको दबाब २३५ बारसम्म पुगेपछि सिलिण्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो। 

प्रकाशित: ४ जेष्ठ २०७८ १२:४१ मंगलबार

शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री पहिलोपटक अक्सिजन