समाज

बिजनेसविहीन समाजः बढ्दै मानसिक समस्या

समस्या फरक चिन्ताको प्रकार एउटै

यतिबेला समाज बिजनेशविहीन अवस्थामा छ। लामो समय यता लकडाउनमा गएका कारण मानिसहरुमा उकुसमुकुसको अवस्था आएको हो। सहर, गाउँ, टोल मात्र नभएर प्रत्येक घरहरु त्रासमा देखिन्छन्। छिमेकमा समेत आवत जावत टुटेको छ। कोरोना संक्रमणको त्रासले ब्यक्तिको दिनचर्या एकतमासको बनेको छ। एक अर्कामा विश्वास टुट्नुका साथै नाता सम्बन्ध भत्केको छ। शारीरिक समस्या देखाउने कोरोनाका कारण मानसिक समस्या बढ्न थाले पनि यता तर्फ भने कसैको ध्यान पुगेको छैन।  

हुनेखानेलाई आफ्नै समस्या छ भने हुँदाखानेलाई फरक समस्या भए पनि चिन्ताको प्रकार भने एउटै देखिन्छ। यतिबेला आम नागरिकसंगै विद्यार्थीहरु थप मानसिक तनावमा छन्। यो समयमा उनिहरुलाई विश्वास र ढाडसको खाँचो छ। लामो समय रुकेको पठनपाठनले तनावमा परेका विद्यार्थीहरु समेत बिजनेसविहीन बनेका हुन्। त्यसो त समाज नै ठप्प छ तर पनि उज्यालो भविष्यको बाटोमा हिडेका विद्यार्थीसंग न रोजगार छ न त अन्य अबसर।

रातदिन स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसंगै संचारकर्मी झनै ठूलो तनावमा छन्। चौबिसै घण्टा सेवामै रहने उनिहरुका परिवार थप चिन्तामा छ। यतिबेला समाजले शासन भन्दा पनि मनोबिमर्श सेवा खोजीरहेको छ। आम नागरिक आफ्नै लागि भए पनि सरकारले भनेको मान्दै घरभित्र छन्। हुनेखानेहरु पनि रुखो सुखो खाएर चित्त बुझाउदै छन भने बिपन्नहरु सापटी पैचो या राहतको भरमा भए पनि सन्तुष्ट छन्।  

बिगतको माओवादी सशस्त्र द्वन्द्वका समयमा आफन्त मारिएका र बेपत्ता पारिएका परिवारलाई यो एकान्तबासले झनै पीडा थप्ने चिकित्सकहरु बताउँछन्। लकडाउनको अवस्था बढ्दै जाँदा तत्कालै देखिएको समस्या भन्दा पनि यसले पार्ने दीर्घकालीन असरका बारेमा राज्यस्तरमा प्रयाप्त गृहकार्यको अभाब छ। एकातिर आर्थिक अवस्था सुधार गर्नु पर्ने छ भने अर्कोतिर सामाजिक र मानसिक समस्या समाधानका बारेमा पनि चासो दिनुपर्ने देखिन्छ। डाक्टरहरुका अनुसार मानसिक समस्याका बिरामीहरु अस्पताल आउन थालिसकेका छन्।  

लामो समयको लकडाउनले मानसिक समस्या अहिले नै सुरु भईसकेको डाक्टरहरु बताउँछन्। ‘अस्पतालमा मानसिक रोगको समस्या लिएर बिरामी आउने भन्दा पनि उनिहरुमा मानसिक समस्याका लक्षणहरु देखिन थालेको छ।’ रोल्पा अस्पतालका डा. प्रतिभा सुवेदी भन्छिन्, ‘बिरामीमा समस्या हुँदैन तर मनमा शंका लिएर अस्पताल आउने गर्दछन्। मानसिक त्रासका कारण कतिपय बिरामी आफू नआएर परिवारका सदस्यलाई औषधि ल्याउन अस्पताल पठाउने गर्छन्।’ उनका अनुसार यतिबेला आम समुदायलाई काउन्सिलिङको जरुरी छ। ‘बिरामी लगायत आम समुदायको मनोबल बढाउनु पर्ने देखिन्छ।’  

दश वर्षे द्वन्द्वका पीडित, गर्भवती, एकल महिला, क्वारेन्टिनमा बसेकाहरु, दीर्घरोगीमा एनजाईटी र डिप्रेशनको समस्या सुरु भएको छ। चिकित्सकहरु अबका दिनमा मानसिक समस्या बढ्न सक्ने सम्भावना रहेको बताउँछन्। उनिहरुका अनुसार एकान्तबासले आम नागरिकको दैनिकीसंगै मानसिक स्वास्थ्यमा पनि प्रभाव पारिरहेको छ।  

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपि नरेशराज सुवेदी पनि लकडाउनका कारण जिल्लामा मानसिक समस्या बढ्ने सम्भावना रहेको बताउँछन्। ‘एकान्तबास र संसारभरको रोग वृद्धिको दर सुनेर पनि कतिपय तनावमा रहन्छन्। मान्छेहरुमा के हो के हो भन्ने छ,’ प्रहरी प्रमुख सुवेदी भन्छन्, ‘यसको असर पछिका दिनहरुमा झन धेरै देखिन सक्छ।’  

संघीय र प्रदेश सरकारसंगै स्थानीय सरकारले पनि आउँदो बजेटमा आर्थिक, सामाजिक क्षेत्रमा जस्तै मानसिक स्वास्थ्यका क्षेत्रमा पनि बिशेष कार्यक्रमहरु ल्याउनु पर्ने देखिन्छ। हेर्दा सामान्य लागेपनि दीर्घकालसम्म असर गर्ने समस्याहरु न्यूनीकरणमा चासो दिनु पर्ने सरोकारवालाहरु बताउँछन्।

प्रकाशित: ४ जेष्ठ २०७८ ०८:४७ मंगलबार

बिजनेसविहीन समाज