समाज

प्रेस पास भएका पत्रकारबाहेक अरु निस्कन नपाउने निर्णय

काभ्रेको बनेपा नगरपालिकाले प्रेस पास भएका पत्रकारबाहेक अरु व्यक्ति बाहिर निस्कन नपाउने निर्णय गरेको छ। बनेपामा नगरपालिकामा पनि नयाँ भेरियन्टको कोरोना संक्रमणदर बढीरहेको बेला नगरपालिका क्षेत्रलाई पूर्ण रुपमा सिल गर्दै सो निर्णय गरेको हो।

नगरपालिकाले जेठ ४ गते मंगलबार राती १२ बजेदेखि जेठ १२ गते बुधबार राती १२ बजेसम्म आफ्नो क्षेत्र सिल भएको जनाएको छ।

नगरप्रमुख लक्ष्मीनरसिँह वादे श्रेष्ठले कोरोना भाइरस संक्रमणका शृङ्खला तोड्नका लागि सोमबार सरोकारवालाहरुसँगको बैठकले नगर क्षेत्रलाई सिल गर्ने सिफारिस भएपश्चात् उक्त निर्णय गरिएको बताए।

सो अवधिमा उनले औषधि पसल, अस्पतालबाहेकका अन्य खाद्यान्न पसल, तरकारी, दूधजन्य पर्दाथका पसल र फलफूल पसल तथा व्यवसायहरु र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान हुने सेवा समेत पूर्ण रुपमा बन्द हुने बताए।

सूचना विभागबाट जारी भएको प्रेस पास भएका पत्रकारबाहेक अरु व्यक्ति बाहिर निस्कन अत्यावश्यक भए स्थानीय प्रशासन वा जनप्रतिनिधिहरुलाई जानकारी गराएर बाहेक कोही पनि बाहिर निस्कन नपाउने पनि निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०७८ ०९:३९ सोमबार

प्रेस पास काभ्रेको बनेपा नगरपालिका