समाज

पानीमा डुबेको अवस्थामा शव फेला

भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ६ मा रहेको वालवन वालखोलामा पानीमा डुबेको अवस्थामा शव फेला परेको छ। एकिन नाम, थर र वतन नखुलेको वर्ष अन्दाजी ३० का पुरुष व्यक्ति घोप्टो परी अनुहार पानीमा डुबी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

महानगरीय प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले घटनास्थलको जाँच प्रकृति मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान कार्य गरी मृतक शव पोष्टमार्टमको लागि काठमाडौ मेडिकल कलेज दुवाकोट भक्तपुरमा राखिएको परिसरले जनाएको छ। हालसम्म शवको पहिचान हुन सकेको छैन। मृतकको आफन्तजनहरु हालसम्म पनि सम्पर्कमा नआएकोले कोही कसैले चिन्नु भएमा तुरुन्त कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।  

हुलिया गहुँगोरो वर्ण, उचाई ५ फिट ८ इन्च, मझौला शरीर भएको, दाहिने हातको बुढी औला र चोरी औलाको बीचमा ॐ लेखिएको ट्याटु, बाँया खुट्टाको पिडौलादेखि बाँया खुट्टाको कान्छी औलासम्म पुरानो खत रहेको, छोटो कपाल दाह्री पालेको, अन्दाजी ३० बर्षको पुरुष व्यक्ति रहेको जनाइएको छ।

प्रकाशित: २ जेष्ठ २०७८ ०७:३३ आइतबार