समाज

खोटाङमा वन्यजन्तुको अंगसहित चार जना पक्राउ

खोटाङमा भरुवा बन्दुक, वन्यजन्तुको अंग सहित चार जना पक्राउ गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्ण बिश्वकर्मालाई प्रहरीले भरुवा बन्दुक, वन्यजन्तुको अंग, भरुवा बन्दुकमा प्रयोग हुने विष्फोटक पदार्थ सहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले चार जनालाई शनिबार राती १० बजे पक्राउ गरेको हो ।  

डम्बरबहादुरको साथबाट एक थान भरुवा बन्दुक, एक वटा मृगको टाउकोको अगाडि पट्टीको भाग, सालकको ४८० ग्राम खपटा, सलाई, गन्धक, बारुद, सोरा र छर्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले बताए । यस्तै, द्रोणको साथबाट लोड गरेको एक थान भरुवा बन्दुक, गन्धक, बारुद, सोरा र छर्रा, रबिन्द्रको घरबाट लोड गरेको एक थान भरुवा बन्दुक, गन्धक, बारुद, सोरा र छर्रा तथा कृष्णको घरबाट भरुवा बन्दुकको ५ थान नाल, बनाउन लागेको बन्दुकको एक थान बट र बन्दुक बनाउन प्रयोग हुने ओजारहरु बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जना बिरुद्ध हातहतियार तथा खरखजना सम्वन्धी कसुरको मुद्धा दर्ता गरेर म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरिक्षक गजमेरले बताए ।  

 

प्रकाशित: २ जेष्ठ २०७८ ०६:१० आइतबार