समाज

फेसबुक एकाउन्ट ह्याक गरी ठगी धन्दा

नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेमबहादुर बुढाको फेसबुक एकाउन्ट ह्याक गरी म्यासेन्जरबाट उनका साथीहरुसंग पैसा मागिएपछि प्रहरीमा उजुरी परेको छ। गत बिहीबार साँझ बुढाको फेसबुक म्यासेन्जरबाट भान्जा बिबेकसंग एक जना साथीलाई पैसा पठाउनु पर्ने भयो। म भोलि मोबाइल बैकिंङबाट फिर्ता गर्छु भनि म्यासेज आएपछि विवेकले मामाको विश्वास गरेर क्विक रेस्पोन्स कोडबाट पन्ध्र हजार नौं सय पचास रुपैयाँ पठाई दिए। तर उक्त रकम दुरुपयोग हुन पुग्यो। बुढालाई पठाएको रकम प्राप्त गर्न टार्गेट एच आर सोलुसन सिनामल काठमाडौं र रोसन कवाडी पसल नामको क्विक रेस्पोन्स कोड प्रयोग भएको खुल्न आएको छ।

बुढाको फेसबुक म्यासेन्जरबाट विवेक जस्तै उनका अन्य साथीहरुलाई पनि पैसा माग्ने काम भयो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्व उपाध्यक्ष हिराबहादुर घर्तीमगरसंग पनि पैसा मागियो। उनले पनि एनआइसी एसिया बैंकको खाता नम्बर १०८५७५०४४५७८३००१ मा ६ हजार रुपैयाँ पठाइ दिए। घर्तीले भने, 'मलाई सुरुमा ११ हजार ५ सय मागेको थियो, मैले छैन भने। ६ हजार भए पनि पठाई दिनु भनेपछि मैले पठाइ दिएँ।'

एनआइसी एसिया बैंक लिबाङ शाखाका अनुसार उक्त खाता नम्बर सुरेन्द्र चौधरीको नाममा भएको खुलेको छ। बैंकका अनुसार उक्त खातामा दैनिक रुपमा रकम जम्मा भएको देखिन्छ। रकम जम्मा भएको क्षणभरमै खाताबाट रकम पनि निकालिएको एनआइसी एसिया बैंकले जनायो। बुढाको म्यासेन्जरबाट रोल्पाका एक प्रहरी अधिकारीसंग पनि पैसा मागियो। प्रहरी अधिकारी भन्छन्, 'लकडाउनको बेला केही समस्या परेको होला भनेर फोन गरेँ। तर कुरो अर्कै परेछ।'

बुढाको फेसबुकबाट एकै समयमा पैसा माग्ने क्रम जारी नै रह्यो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्व अध्यक्ष महेश न्यौपानेलाई पनि मोबाइल बैकिङबाट पैसा मागियो। तर उनले मेरो मोबाइल बैकिङ छैन भनेपछि ह्याक्रकोमा रकम गएन। बुढाकै म्यासेन्जरबाट पत्रकार मिनराज रोकालाई पनि तीस हजार नौं सय मागियो। रोकाले भने, 'मैले मेरोमा तीस हजार छैन, बीस हजार मात्र छ भने। त्यही पठाई दिनु भन्यो। मैलें तीन चोटी एनआइसी एसिया बैंकको खाता नम्बर १०८७५५७३५१५२४००१ पैसा पठाइ दिन प्रयास गरेँ। तर नगएपछि मैले खेम बुढालाई फोन गरेर तपाईले पैसा पठाई दिनु भनेको मान्छेको एकाउन्टमा पैसा नै जाँदैन के भको भनेर भने।'

'मिनराजले फोन गरेपछि मात्र मेरो फेसबुक आइडी ह्याक गरेर पैसा मागेको थाहा पाएँ। यसमा बैंक, ईसेवा, फोन पेका कर्मचारीको समेत संलग्नता हुन सक्ने आशंका देखियो।' पत्रकार खेम बुढाले भने,'छानविनका लागि मैले प्रहरीमा निवेदन दिएको छु। एनआइसी एसिया बैंक, ईसेवा, फोन पे सबैतिर सम्पर्क गरेर वास्तविकता पत्ता लगाउन कोसिस गरेँ। तर अहिले सम्म कैतबाट रेस्पोन्स छैन।' उनले थपे, 'निश्पक्ष छानविन गरेर सर्वसाधारणको पैसामा भई रहेको बदमासीको वास्तविकता बाहिर आउनु पर्छ भन्ने मेरो माग रहेको छ।'

करिब एक महिना अघि रोल्पा नगरपालिका–६ माडीचौरकी एक महिलाले एनआइसी एसिया बैंककै खातामा २ लाख ७४ हजार जम्मा गरिन्। त्यो रकम पनि जम्मा गरेको केही छिनमै बैंकबाट निकालियो। उनले प्रहरी र एनआइसी एसिया बैंकको लिबाङ शाखामा निवेदन दिइन्। उनको पैसा कसरी दुरुपयोग भयो एनआइसी एसिया बैंकले अहिले सम्म जवाफ दिन सकेको छैन। पत्रकार बुढाले प्रहरी लगायत रोल्पास्थित एनआइसी बैकं र बैंकका प्रमुख कार्यत्रारीलाई पनि छानबिनका लागि निबेदन दिएका छन्।

प्रकाशित: १ जेष्ठ २०७८ ०८:०१ शनिबार

फेसबुक एकाउन्ट ह्याक नेपाल पत्रकार महासंघ रोल्पा