समाज

बैतडीमा थप १५ दिन निषेधाज्ञा

बैतडीमा १५ दिनको लागि निषेधाज्ञा थपिएको छ। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि निषेधाज्ञा थपिएको हो। 

वैशाख २० गतेदेखि जारी गरिएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। उनका अनुसार जेठ २ गतेपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेकाले संक्रमण रोक्नका लागि थप १५ दिन निषेधाज्ञा थप गरिएको हो।

निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइने छ भने अनावश्यक कसैले पनि हिँड्डुल गर्न पाउने छैन। खाद्यान्न तथा तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने छ। यस्तै कुनै निर्माणका कामहरु गर्नु परेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिस गरेमा आवश्यकताका आधारमा ती कामहरु सञ्चालन गर्न दिने निर्णय गरिएको छ।

विवाह, ब्रतबन्ध जस्ता कार्यहरु थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए।

बैतडीमा शुक्रबारसम्म ८ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् भने ९ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ।

प्रकाशित: ३१ वैशाख २०७८ १३:२८ शुक्रबार

निषेधाज्ञा बैतडी कोरोना भाइरसको संक्रमण