समाज

मोरङमा जेठ ११ गतेसम्म थपियो निषेधाज्ञा

मोरङमा जेठ ११ गतेसम्मलाई निषेधाज्ञा थप गरिएको छ। वैशाख ३१ गते राती १२ बजेदेखि जेठ ११ गते राती १२ बजेसम्मलाई निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।  

मोरङमा कोरोना भाइरसको दोस्रो लहरको नयाँ भेरियन्टको संक्रमण दैनिक रुपमा बढिरहेको छिमेकी जिल्लाहरू सुनसरी, झापा र सीमावर्ती छिमेकी राष्ट्र भारतमासमेत तीव्र रुपमा संक्रमण फैलिइरहेका कारण नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो। 

सूचनामा बैंक तथा वित्तिय संस्थाहरुले सीमित सेवा मात्रै प्रदान गर्ने र त्यसको व्यवस्थापन नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय विराटनगरले गर्ने उल्लेख छ। त्यस बाहेक संघ, प्रदेश र स्थानीय सरकार मातहतका कार्यालयहरु समेत अत्यावश्यक बाहेकको सेवा बन्द रहने भएको छ। अनावश्यक हिँड्डुल गर्ने र सवारीसाधन सञ्चालन गर्नेहरूलाई कानुन बमोजिम कार्बाही गरिने पनि सूचनामा उल्लेख छ।  

जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १ गते राती १२ बजेसम्मका लागि दोस्रो पटक जिल्लाभरी लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेको थियो। मोरङका केही स्थानीय तह केन्द्रित गरेर पहिलो पटक वैशाख १८ गते राती १२ बजेदेखि निषेधाज्ञा आदेश जारी भएको थियो।

प्रकाशित: ३१ वैशाख २०७८ १२:४३ शुक्रबार