समाज

ढोरपाटनमा ट्याक्सी दुर्घटना दुईको मृत्यु

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो।

ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

दुर्घटनामा सोही स्थानकी ३८ वर्षीय रतिकला विक घाइते भएको वन्तको भनाइ छ। घाइते विकलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीको भनाइ छ। रासस

प्रकाशित: २९ वैशाख २०७८ ०३:३९ बुधबार

ट्याक्सी दुर्घटना