समाज

रौतहटको गौर नगरपालिकाद्वारा २० बेडको अस्थायी कोरोना अस्पताल सञ्चालन

दिनदिनै कोरोना भाइरसले विस्तार रुप लिइरहेको समयमा रौतहट जिल्लाको सदरमुकाम समेत रहेको गौर नगरपालिकाले मंगलवारदेखि २० बेडको अस्थायी कोरोना अस्पताल संचालनमा ल्याएको छ । गौर नर्सिंग इन्स्टिच्युटको भवनमा नपाले अस्थायी कोरोना अस्पताल संचालनमा ल्याएको हो ।

जिल्ला अस्पताल गौरमा खडा गरिएको कोभिड वार्डको क्षमताले नभ्याइरहेको परिवेशमा डिसिसिएमसीको बैठकमा प्रत्येक स्थानीय तहमा कम्तीमा १० बेडको कोरोना अस्पताल बनाउनु पर्ने भएको सहमतिअनुसार गौर नगरपालिकाले नर्सिंग इन्स्टिच्युटमा अक्सिजनसहितको २० बेडको अस्थायी अस्पताल मंगलवारबाट संचालनमा ल्याएको गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले जानकारी गराएका छन् ।  

कोरोना अस्पतालको रेखदेख एवं शव व्यवस्थापनको लागि जिम्मेवारी वृदल गणको नेपाली सेनालाई दिइएको तथा २४ औं घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराइएको जानकारी दिँदै मेयर गुप्ताले कोरोना संक्रमित विरामीहरुलाई आवश्यक पर्ने सम्पूर्ण औषधि नगरपालिकाले बेहोर्ने मेयर गुप्ताको भनाइ छ ।  

कोरोना अस्पतालमा २ जना एमबिबिएस चिकित्सक, २ जना स्टाफ नर्ससहितको आवश्यक जनशक्तिको प्रवन्ध मिलाएरै मंगलवारदेखि अस्पताल संचालनमा ल्याइएको मेयर गुप्ताले जानकारी गराएका छन् ।

प्रकाशित: २८ वैशाख २०७८ १३:२३ मंगलबार

रौतहटको गौर नगरपालिका २० बेडको अस्थायी कोरोना अस्पताल