समाज

संक्रमितलाई भेट्न घरमै पुगे जनप्रतिनिधि

तस्बिर : अनिल /नागरिक

कोरोना भाइरसको संक्रमण भएर होम आइसोलेशनमा बसेका बिरामीलाई हौसला दिन जनप्रतिनिधि घरघरमै पुग्न थालेका छन् । कोरोनाको संक्रमण बढ्दै जाँदा सामान्य समस्या आएका बिरामीलाई चिकित्सकको सुझाव अनुसार होम आइसोलेसनमा बसेका बिरामीलाई घरमै पुगेर जनप्रतिनिधिले हौसल्ला प्रदान गर्न थालेका छन् ।  

यहाँको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री होम आइसोलेसनमा बसेका विरामीलाई सामाजिक दुरी कायम गरेर हौसल्ला प्रदान गर्न जुटेका छन् । ‘विहेभोजका कारण एक स्थानका १४ जनालाई कोरोना भाइरसको संक्रमण भएछ म त्यहि गएर समस्या के रहेछ भनेर बुझेर आएको हुँ’, मेयर खत्रीले नागरिकसँग भने, ‘संक्रमितलाई नआत्तिन र आत्माबल दह्रो बनाउन हौसल्ला प्रदान गरेका छाँै ।’ 

उनीसँगै मलामाई नगरपालिका ५ का वडाअध्यक्ष पूर्ण बहादुर खड्का पनि बिरामीलाई हौसला प्रदान गर्न पुगेका थिए । सामाजिक सञ्जाल र समाचारका कारण विरामी आत्तिन सक्ने भन्दै हौसल्ला प्रदान गर्न जनप्रतिनिधि घरघरमै पुग्न थालेका हुन् । ‘हामीले बिरामीलाई समस्या परे तत्काल खबर गर्न भनेका छौ, नगरपालिकाले गाडी सहितको सेवा विरामीलाई दिन तयार छ’, मेयर खत्रीले थपे । यस्तै बागमती प्रदेश सभा सदस्य लेखनाथ दाहाल(राजन) सुनकोसी गाँउपालिका सहित विभिन्न स्थानमा होम आइसोलेसन बसेका विरामीलाई हौसल्ला दिन पुगेका छन् । बिरामीको मनोबल बढाउने उदेश्यले होम आइसोलेसनमा पुगेर हौसल्ला बढाउने काम भएको उनले जनाए ।  

कोरोना भाइरसको दोस्रो लहर बढेसँगै जिल्लामा चार जनाको मृत्यु भइसकेको छ भने तीनसय ६ जना संक्रमित भएका छन् । जसमध्ये २ सय ९५ जना सक्रिय संक्रमित रहेको जिल्ला अस्पताल सिन्धुलीका प्रवक्ता डा. सागर देवकोटाले बताए । कोरोनाको दोस्रो लहर सुरु भएसँगै सात सय २८ जनाको पिसिआर चेकजाँच गर्दा तीन सय ६ जनाको कोभिड पोजिटिभ देखिएको र हाल २ सय ९५ जना सक्रिय संक्रमित रहेको डा. देवकोटाले बताए । 

उनका अनुसार कोभिडका कारण लक्षण सहित विरामी रहेका १२ जना कोभिड अस्पतालमा उपचारत छन् भने अन्य सबै होमआइसोलेसनमै छन् । होम आइसोलेसनमा रहेका विरामीलाई पनि हाम्रो निगरानी छ, उनले भने । तीनपाटन गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले संक्रमितलाई समस्या परेमा जुनसुकै समयमा आफुहरुलाई विरामीले फोन गर्न सक्ने व्यवस्था मिलाएको बताए । गाँउपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुखको फोन नम्बर हामीले सार्वजानिक गरेर समस्या परेमा तत्काल खबर गर्न भनेका छौ, उनले भने । यस्तै घ्यालेख गाँउपालिका अध्यक्ष जगतबहादुर भोलन, उपाध्यक्ष दुर्गा देवी सुनुवार र तीनपाटन गाँउपालिकाकी उपाध्यक्ष पदममाया तामाङले आफुहरुले प्रयोग गर्दै आएको गाडी विरामीलाई प्रयोग गर्न दिएको बताएका छन् ।  

प्रकाशित: २६ वैशाख २०७८ ११:५७ आइतबार