समाज

बागमती प्रदेश प्रहरी कार्यालयको भवन शिलान्यास

बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवन निर्माण सुरु गरिएको छ। शनिबार एक कार्यक्रमको बीच आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलले भवनको शिलान्यास गरेका छन्।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा निर्माण गर्न लागिएको हो।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कूल लागत ३२ करोड रुपैंया लागतमा भवन निर्माण हुने बताइएको छ। चलू आर्थिक वर्षको लागि मन्त्रालयबाट पाँच करोड निकासा भएकोमा टेण्डर प्रकृया सबै सम्पन्न गरी काम सुरु गरिएको हो।

निकट भविष्यमा नेपाल प्रहरी समायोजन भई प्रदेश प्रहरीको रुपमा रहने भएकोले हालको संरचना अपुग हुने र बागमती प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा विकास गर्नुपर्ने भएको हुँदा भवनको निर्माण कार्य सुरु गरिएको हो।

बागमती प्रदेश प्रहरी हाल संघीयअन्तर्गत रहेता पनि बागमती प्रदेश सरकारले भवन निर्माण लगायत शान्ति सुरक्षासँग सम्बन्धित प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सहयोग गर्दै आइरहेको छ। भवन निर्माण सम्पन्न भएपछि प्रहरीले आम नागरिकलाई प्रदान गर्ने सेवा, शान्ति सुरक्षामा सहज हुने बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए।  

आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोगमा हालसम्म बागमती प्रदेश अन्तर्गत ३४ वटा प्रहरी इकाई निर्माण सम्पन्न भइसकेको छ। १२ वटा प्रहरी इकाई निर्माणाधिन र चालू आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय समेत गरी थप २१ वटा प्रहरी इकाई निर्माणको लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भइसकेको छ। हालसम्म ६७ वटा प्रहरी इकाईहरु निर्माणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशबाट सहयोग भई सकेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०७८ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App